४२ दिनमा सकियो प्रदिप र रेनुको ‘प्रकाश’को छायांकन



कोरोनाका कारण अहिले चलचित्र बजार ठप्प छ । रिलिजको तयारीमा रहेका अधिकांश चलचित्रको रिलिज रोकिएको छ । अहिले त झन् हल पनि बन्द गरिएको छ । यस्तोमा चलचित्रको छायांकन भने धमाधम भैरहेका छन् ।

यसैबिच युवापुस्तामाझ लोकप्रिय अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको चलचित्र प्रकाश को छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । प्रकाश को ४२ दिनमा छायांकन सकिएको हो ।

चलचित्रमा प्रदिपसँगै नव नायिका रेनु योगीको मुख्य भूमिका रहेको छ ।

सरकारी स्कुलको शिक्षक बन्नका लागि एक यूवाले गरेको संघर्षको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ । लभरब्वाइको भूमिकामा देखिदै आएका नायक प्रदिप खड्कालाई दर्शकले यो चलचित्रमा फरक भूमिकामा देख्नेछन् ।

प्रदिप स्वयम पनि यो चलचित्रबाट निकै नै आशावादी रहेका छन् । अन्य चलचित्रमा भन्दा केही फरक भूमिका निभाउन पाएकोमा प्रदिप यो चलचित्रबाट खुसी छन् । त्यसका साथै आफ्नो नयाँ प्रस्तुतीलाई दर्शकले रुचाउनेमा प्रदिप विस्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्