स्वर्गीय अभिनेता सुशान्तको मृत्युको विषयमा बनाइएको फिल्मको टिजर रिलिज



गतबर्षका जून ११ मा बलिउड अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका थिए । उनले संसार छोडेको झण्डै १ बर्ष बित्न लागिसक्यो तर उनको मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । यसैबिच हालैमात्र सुशान्तको मृत्युको विषयमा बनाइएको फिल्मको टिजर रिलिज भएको छ ।

निर्माण पक्षले उक्त फिल्म सुशान्तको मृत्युको विषयमा भएको दाबी गरेको छैन तर टिजरबाट सजिलै फिल्मको कहानी दर्शकले बुझ्न भने सक्छन् । फिल्मको नाम भने न्याय द जस्टिस राखिएको छ ।

फिल्ममा सुशान्तको भूमिकामा रहेका पात्रको नाम महेन्द्र सिंह राखिएको छ । यो भूमिकामा जुबेर के खान छन् । सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रवर्तीको पात्रलाई उर्वशी नाम दिइएको छ र यो भूमिकामा श्रेया शुक्ला छिन् । फिल्ममा अमन वर्मा, शक्ति कपूर, असरानी लगायतका कलाकार अहम भूमिकामा छन् । फिल्मको निर्देशन दिलिप गुलाटीले गरेका हुन् ।

रोचक कुरा त के छ भने यो चलचित्रलाई निर्माण टिमले जून ११ मा नै रिलिज गर्ने बताइरहेको छ । तर सुशान्तका केही फ्यान भने टिजर हेरेर भड्किएका छन् । अहिलेसम्म राम्रोसँग घटनाबारे अनुसन्धान नै नभएकाले यस्तो संवेदनशील विषयमा चलचित्र बनाइहाल्नु पर्ने जरुरत नभएको धेरैले बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्