यी हुन् यसबर्ष सर्वाधिक चर्चा कमाउन सफल गीतहरु…



आज यस बर्ष अर्थात २०७७ सालको अन्तिम दिन हो । २०७७ साल सबैको लागि त्रासपूर्ण रह्यो । कोरोनाको महामारीको कारण सबैजना घरमा बस्न बाध्य रहे । कोरोनाको प्रत्यक्ष असर चलचित्र र सांगितीक क्षेत्रमा पनि देखियो । तर लकडाउन कम भएपछि नेपाली गीतसंगीतले गति लिएको देखिन्छ ।

यसबर्ष रिलिज भएकामध्ये केही गीतले असाध्यै चर्चा पाउनुका साथै युट्युबमा पनि इतिहास रच्न कायम भए । आज हामी तिनै गीतहरुबारे चर्चा गर्नेछौँ ।

यसबर्ष सर्वाधिक चर्चामा रहन सफल गीत हो फुलबुट्टे सारी । यो गीतको अनेक भर्जन निस्किए र सबैले उत्तिकै चर्चा पाए । यो गीत अन्तराष्ट्रिय स्तरसम्म पुग्न सफल भयो । विदेशी कलाकारले पनि यो गीतलाई गाएर चर्चा बटुलेको हामी देख्न सक्छौँ । राजनराज सिवाकोटीको शब्द र संगीत रहेको गीतको फिमेल भर्जन धेरै रिलिज भयो, जसलाई मिलन नेवारले गाएकी थिइन् । गीतम पल शाह र मलिका महत फिचर्ड थिए ।

यस्तै यस बर्ष रिलिज भएमध्येको अर्को चर्चित गीत हो टाढा भएपनि । उर्गेन दोङको शब्द र संगीत रहेको गीतलाई स्वयम उर्गेन र फिमेल भर्जनलाई अस्मिता अधिकारीले गाएकी छन् । यो गीतले पनि दर्शकको मन जित्न सफल भयो । गीतमा पल र मलिका नै फिचर्ड छन् ।

लकडाउन भर्खर भर्खर खुलेको समयमा रिलिज भएको थियो नरेश खाती र समिक्षा अधिकारीको आवाज रहेको माया मारेर बोलको गीत । यो गीत हिट मात्र भएन यसले समिक्षा र नरेशको करियरलाई उत्कर्षमा पुर्याइदियो भन्दा फरक नपर्ला । यो गीतमा शब्द र संगीत स्वयम नरेश खातीकै रहेको छ ।

हर्क साउदको शब्द र कुशल सिंहको संगीत रहेको के माया लाग्छ र ? बोलको गीतले दर्शकको मन जित्न सफल भयो । निशान भट्टराई र एलिना चौहानको आवाज रहेको गीतमा मुकुन भुषाल र सुरबिना कार्की फिचर्ड छन् । गीत टिकटकमा पनि सर्वाधिक हिट भएको थियो ।

योसँगै ए है माया, ओए काजल, नबोली नबोली, सोचे झैँ जीन्दगी, देखेर तिमीलाई हेरेर तिमीलाई, उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले, फुटेका चुरा, बदला बरिलै, पछ्यौरी लिसियो, झ्यालमा पर्दा छ, चौकादाउ लगायतका गीतले पनि दर्शकको सर्वाधिक मन जित्न सफल भए । यी गीतले दर्शकको मन जित्नुको साथै युट्युबमा पनि राम्रो भ्यूज पाएका छन् ।

यो बर्ष ५ सय बढी गीत रिलिज भए । लकडाउनपछि यतिधेरै गीत रिलिज हुनु राम्रो कुरा हो । अझ कति गीत त दर्शकले आएको–गएको पत्तो पाएनन् । धेरै मेहेनत गरेर दर्शकमाझ गीत पुर्याउन बनाइन्छ र त्यहि गीत दर्शकमाझ नपुग्दा त्यो मेहेनतको केही काम नै हुदैँन । अरुले भन्दा आफूले छिटो गर्ने सुरमा धेरैले राम्रो काम गर्न बिर्सिए । यो बर्ष रिलिज भएका ५ सय बढी गीतमध्ये हिट गीतलाई औलामा नै गन्न सकिन्छ । त्यसैले अब हतारमा धेरै गीतभन्दा समय लगाएर राम्रो गीत निकाल्नेतिर ध्यान पो दिने हो त ?

प्रतिक्रिया दिनुहोस्