प्रसुती शल्यक्रिया गर्दा चिकित्सकले पेटभित्रै कपडा छाडेपछि….



काठमाडौं । शल्यक्रिया मार्फत प्रसुति गराउँदा अस्पतालका चिकित्सकको लापरबाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्यान नै जोखिममा परेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवार र सामाजिक अभियन्ताहरुले सोलुस्थित फाप्लु अस्पतालका डाक्टर दिलिप कुमार साहको टिमले डोमाको ज्यान जोखिममा पारेको भन्दै कारवाहीको गर्न माग गरेका हुन् ।

कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले गम्भीर त्रुटी गर्ने चिकित्सक दोषी भएको जिकिर गर्दै कडा कारबाहीको माग गरे । उनले क्षमता भन्दा बाहिरका मानिसलाई डाक्टर बनाएको समेत आरोप लगाए । ‘जबसम्म विधिको शासन हुँदैन तबसम्म यस्तो समस्या भईरहन्छ ।’ उनले भने, ‘यो व्यवस्थामा कुनै नागरिकले पनि न्याय पाउदैनन् ।’ शाहीले देशमा पार्टीका कार्यकर्ता मात्र न्यायाधिस भएको बताए । कुनै पनि न्यायाधिस आफ्नो क्षमताले न्यायधिस नबनेको उनको आरोप थियो । उनले व्यवस्था परिर्वतन गरे मात्रै डोमाको जस्तो समस्याहरु दिर्घकालिन रुपमा समस्या समाधान हुने बताए ।

सामाजिक अभियन्ता हेमराज थापाले डोमा घतानेको सोलुखुम्बुमा बच्चा जन्माउने क्रममा डाक्टरहरुले शल्यक्रिया गर्दा कपडा भित्र छाडेको आरोप लगाए । उनले काठमाडौंमा रिफर गरेपछि बौद्व स्थित स्तुपा कम्युनिटि अस्पतालका डा.आशिष राज भण्डारीले एउटै व्यक्तिलाई चार–चार पटक भिडियो एक्सरे गर्न लगाएको बताए । ‘आज उनको जीवन मर्नु न बाच्नु भएको छ ।’ उनले भने, ‘६५ किलो तौलकी डोमा ३० किलोमा झरेकी छिन् ।’ डा.आशिष राज भण्डारीलाई मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले कारबाही गर्नुपर्ने थापाको माग थियो ।

उनले नेपालका जनतामाथि नक्कली डाक्टर बनेर कसरी झुक्याउछन् भन्ने बारेमा अध्ययन गर्ने पनि जानकारी दिए । घटनामा सम्बन्धित डाक्टरहरुको लाइसेन्स खारेज गर्नुपर्ने माग गरे ।

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले डोमालाई मर्नु न बाच्नु अवस्थामा पुर्याउने डाक्टरलाई कारवाही गर्न माग गरिन् । ‘एक आमाले बच्चा जन्माउदा भोग्ने पिडा अरु कसैलाई बुझ्न सक्दैन् ।’ संग्रौलाले भनिन्, ‘बच्चाले जन्मदा बित्तिकै आमाको अनुहार देख्न पाउने होकी होइन भन्ने सन्त्रास फैलिएको छ ।’

उनले एकजना डाक्टरको लापरवाहीले एउटी आमाको जीवन मृत्युको मुखमा पुगेको भन्दै आफ्नो आमाको रुपमा एकपटक सोच्न आग्रह गरिन् । शहरमा विदेशमा पढेका डाक्टर राख्ने र सरकारले दुरदराजमा नक्कली डाक्टर पठाएको आरोप लगाइन् । डाक्टरलाई पहिला मानव र पछि मात्र आफुलाई डाक्टर सम्झन पनि उनले आग्रह गरिन् । डाक्टरहरुले मानविय मुल्य र मान्यतालाई पनि ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

डोमाका श्रीमानले डाक्टरलाई कारवाही र क्षतिपुर्तिको लागि नेपाल मेडिकलमा मुद्दा दर्ता गराएको बताए । उनले भोली स्वास्थ्य मन्त्रालयमा जाने जानकारी दिए । सामाजिक अभियन्ता तथा सगरमाथा आरोही विजय घिमिरेले सोलुको फाप्लु अस्पतालका दिलिप कुमार शाह लगायतका समुहले पेट भित्र नै कपडा राखेको भन्दै दुःख व्यक्त गरे । उनले घटनामा सम्लग्न सबैलाई कारबाही गर्न माग गरे ।

सुशासनको लागि अभियान हाम्रो नेपाल हामी नेपालीको स्वास्थ्य तथा शिक्षा विभागको प्रम्ख जिता बरालले कार्यक्रम संचालन गर्दै डोमाले न्याय नपाएसम्म लडिरहने बताइ्रन् । उनले अस्पतालले विभिन्न समस्या देखाएर जबरजस्ती शल्यक्रिया गराएको समेत आरोप लगाइन् । काठमाडौंको स्तुपा अस्पतालले चार पटक सम्म पेट फुलेको भन्दै भिडियो एक्सरे गर्दै ठिक हुन्छ भन्दै घर पठाएकाले समस्या थप जटिल बनेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्