अनमोल–सुहाना र पूजा–आकाशबिच भिडन्त, कसले मार्ला बाजी ?



कोरोना महामारीका कारण लामो समयसम्म फिल्म क्षेत्र ठप्प भयो । रिलिजको तयारीमा रहेका, छायांकन भैरहेका त छायांकनको तयारीमा रहेका सबै चलचित्रको काम रोकियो । हलहरु पनि सबै बन्द भए । कोरोनाको महामारी कम भएसँगै अहिले विस्तारै हलहरु खुल्न थालेका छन् । प्रदर्शनको तयारीमा रहेका चलचित्रले फेरि प्रदर्शनको मिति खोज्दैछन् भने छायांकन सकिएका चलचित्र पनि अब चलचित्र रिलिज गर्ने तरखरमा देखिएका छन् ।

केहीदिन अघिमात्र निर्माता सुनिलकुमार थापाले आउँदो भदौ १८ गतेदेखि चलचित्र ए मेरो हजुर ४ देशव्यापी रुपमा प्रदर्शनमा आउने घोषणा गरेका छन् । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ४ दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेको चलचित्र हो । यस्तोमा ए मेरो हजुर ४ को रिलिज डेट सार्वजनिक हुदाँ दर्शक खुसी भएका छन् ।

यसैबिच आजमात्र चलचित्र सम्हालिन्छ कहिले मन का निर्देशक सुदर्शन थापाले पनि चलचित्र भदौ १८ मा देशव्यापी रुपमा प्रदर्शनमा आउने बताएका छन् । पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र सम्हालिन्छ कहिले मन पनि दर्शकले निकै प्रतिक्षा गरिरहेको चलचित्र हो । अनमोल, सुहाना, पूजा, आकाश सबैको आफ्नो आफ्नो फ्यान फलोइङ रहेको छ । यस्तोमा दुवै चलचित्र एकसाथ रिलिज हुदाँ दर्शक पक्का बाडिन्छन् । यसको नोक्सान दुवै चलचित्रलाई हुने स्पष्ट छ । अब हेरौँ यो बाजी कसले मार्ने हुन् । तर अलग मितिमा प्रदर्शनमा आएको भए सायद दुवै चलचित्रले ब्लकबस्टर पो व्यापार गर्थे कि ?

प्रतिक्रिया दिनुहोस्