
बलिउडमा छोटो समयमा नै राम्रो चर्चा कमाएकी अभिनेत्री जिया खानले सन् २०१३ जुन ३ मा २४ बर्षको उमेरमा मुम्बईको जुहुस्थित आफ्नो घरमा आत्महत्या गरेकी थिइन् । उनको मृत्यु निकै रहस्यमय रहेको छ ।
उनले संसार छोडेको लगभग ८ बर्ष भैसकेको छ । तरपनि उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीसँग जियाको प्रेम सम्बन्ध थियो । तर, केही समयपछि सुरजसँग जियाको सम्बन्ध पनि बिग्रन थाल्यो । ३ जुन २०१३ मा जियाको शव उनकै घरमा डोरीमा झुन्डिएको अवस्थामा भेटियो । मर्नुभन्दा अघि अन्तिमपटक जियाले सुरजसँग नै कुराकानी गरेकी थिइन् । पुलिसले यस घटनाको अनुसन्धानका क्रममा सुरजलाई पक्राउ गरेर २३ दिनसम्म जेलमा राख्यो, त्यसपछि जमानतमा उनी रिहा भए । यस घटनाको ८ वर्षपछि पनि उनको मृत्युको रहस्य अझै खुलेको छैन ।
जिया खानले मात्र ३ चलचित्रमा काम गरेकी थिइन् । उनको डेब्यु अमिताभ बच्चनसँग भएको थियो । त्यसपछि उनले गजनी मा आमिर खानसँग काम गरिन् र त्यसपछि हाउसफूल मा काम गरिन् । दर्शकले अहिलेपनि उनलाई याद गरिरहेका हुन्छन् । धेरैलाई उनको मृत्युको कारण जान्न मन पनि छ । तर यो राज खुल्ने छाँटकाँट देखिएको छैन ।





