‘भ्यालेनटाइन डे’ को अवसरमा अञ्जुले भनिन् : ‘मलाई थिरले चोखो प्रेम दिएका छन्’



केहीसमय यता गायिका अञ्जु पन्त आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छिन् । उनी संगीतकार थिर कोइरालासँग प्रेममा छिन् । यो कुराको खुलासा केही समयअघि मात्र भएको हो । अहिले अञ्जु र थिर दुवैले आफ्नो प्रेम स्वीकारिसकेका छन् र यसबारे खुलेर बोल्न थालेका छन् ।

हिजो भ्यालेनटाइन डे को अवसरमा गायिका पन्तले आफूलाई थिरले चोखो माया गर्ने बताएकी छिन् । उनले आफूले जीवनमा दोस्रो बिहे कहिल्यै नगर्ने बताएता पनि भाग्यले आफ्नो भेट थिरसँग गराइदिएपछि बिहे गर्ने सोच बनाएको बताएकी छिन् । उनले भनिन्, ‘मैले थिरलाई राम्रोसँग चिनेको ४ बर्ष भयो । तर हाम्रो बिहेको कुरा भने अघिल्लो बर्षबाट मात्र सुरु भएको हो । अहिले घर परिवार यसबारे नै छलफल गर्दै हुनुहुन्छ । मलाई थिरले चोखो माया गर्नुहुन्छ । उहाँजस्तो जीवनसाथी पाउनु मेरो लागि भाग्यको कुरा हो । हामीले एकअर्काको भावनाको कदर गर्ने गरेका छौँ । त्यसैले पनि थिरसँग मैले जीवन बिताउन सक्छु जस्तो लाग्छ ।’

यसका साथै केहीसमय अघि थिरले पनि अञ्जुप्रतिको आफ्नो भावना व्यक्त गरेका थिए । उनले विवाहपछि अञ्जुलाई सकेसम्म खुसी दिने कोशिस आफू गरिरहने समेत बताएका छन् । यतिबेला सामाजिक सञ्जालमा थिर अञ्जुलाई बधाई दिनेको ओइरो नै लागेको छ । तर यी दुईको विवाहको मिति भने तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्