
“हावा चिसो चिसो, हजुरलाई जाडो भा होला मेरो गलबन्दी लिस्यो” । यो गीत नसुन्ने र मन नपराउने दर्शक अहिलेको समयमा कोही छैनन् होला । मेला, महोत्सवदेखि भोजभतेरमा आजभोली यहि गीत बढी सुन्न पाइन्छ । १ महिनाअघि युट्युबमा रिलिज भएको गीतलाई छोटो समयमा नै दर्शकले औधी रुचाए ।
साना बच्चादेखि बूढापाकासम्मले यस गीतमा छमछमी नाचेर बनाएको छोटो भिडियो हामीले सामाजिक सञ्जालमा प्रशस्तै देख्न सक्छौँ । पछिल्लो समयमा दर्शकमाझ सर्वाधिक लोकप्रिय बन्दै गएका लोकगायक रबिन लामिछानेको शब्द र संगीत क्षेत्रमा लामो सयमदेखि संघर्षरत अर्जुन सापकोटाको संगीत रहेको ‘पछ्यौरी लिस्यो’ गीतमा स्वयम रबिन, अर्जुन र दर्शकमाझ लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाज रहेको छ ।
गीतमा बिमल अधिकारी, अञ्जली अधिकारीका साथमा अर्जुन सापकोटा र रबिन लामिछाने पनि फिचर्ड छन् । यो गीतको टिमले हालैमात्र युट्युबमा सर्वाधिक १ करोड (१० मिलियन) भ्यूज प्राप्त गरेको खुशियालीमा केक काट्यो । गीतले यति छोटो समयमा यतिधेरै लोकप्रियता हासिल गर्छ भनेर सायदै यो टिमले सोचेको थियो ।
यो गीत हिट मात्र भएको छैन, गीतका कारण अहिले सांगितीक बजारमा रबिन लामिछाने र अर्जुन सापकोटाको डिमाण्ड पनि बढिरहेको छ । गीतको सफलताको पछाडी दर्शकको सबैभन्दा ठूलो हात भएको भन्दै रबिन, समिक्षा, अर्जुन, बिमल लगायतका कलाकारले दर्शकलाई मनैदेखि धन्यवाद दिए । त्यसका साथै अर्जुन र रबिनले यो गीतको सफलताले आफूहरुलाई अझै राम्रा गीतहरु सिर्जना गर्ने हौसला मिलेको समेत बताए ।





