‘शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरिने’ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताएका छन् ।

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिदैँ उनले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको समेत बताए ।

समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाई छ । सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्छ । सन्देशमा उनले भनेका छन्, हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।

लोकतान्त्रिक अधिकारी, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारी प्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा गरेको समेत उनले बताए ।

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको भन्दै उनले भने, “हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।”

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौँ । सोही सङ्घर्षको भाव भूमिबाट जनसङ्घर्षको ज्वार उठेर विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्