
मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दापनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन । नासोँ गाँउपालिका ८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पिडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६२ घरधुरी छन् ।
यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भनेर गाउँमुनिको जंगलमा खटिइरहेका छन् । तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ ।
उहाँले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेट िसबै मिले अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ । रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाई छ । घर जाँउ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पार्यो । घलेले आफ्नो बाध्यता सुनाए ।
‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ’, घलेले भने– ‘पूर्णिमाको दिन भएकाले गाउँमा सबै हुँदा अलि सहज भएको छ ।’ ‘कहिले जंगलको आगो निभाउन त कहिले मान्छे जलाउन आगो बाल्दैमा हाम्रो यो साल बित्यो, सुखसँग गास हालेर सास फेर्न पाइएन।’ –घलेको भनाइ थियो ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।





