![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/08/nrna-photo-2.jpg?fit=720%2C404&ssl=1)
काठमाडौं । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता, प्रमुख संरक्षक डा.शेष घले, पूर्व अध्यक्ष एवं अन्य संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा, संघ अन्तर्गतका राष्टिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधिहरु तथा नेपाली कांग्रेस नेता गोविन्द भट्टराई लगायत अन्य शुभचिन्तकहरुको सहभागितामा गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सम्पन्न भएको छ ।
महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा.हेम राज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गर्नुभयो । नेपाल सरकारको स्वीकृतिमा भर्चुअल (जुम) माध्यमबाट सम्पन्न विशेष महाधिवेशनबाट भएका निर्णयहरु निम्नानुसार छन् ।
१. गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले प्रस्तुत गर्नुभएको संघको आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरियो । संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनको लागि गोवा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरियो ।
२. विशेष महाधिवेशनमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरियो । विधानमा रहेका संशोधित प्रावधान अनुरुप काम कारबाही अगाडि बढाउने प्रतिबद्धता जाहेर गरियो ।
अन्त्यमा, विशेष महाधिवशेनलाई सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधिहरु, संघका संस्थापक, संरक्षक, पदाधिकारी, र सम्पुर्ण गैरआवासीय नेपाली सहित सञ्चारकर्मी लगायत सम्पूर्ण सहभागी सबैप्रति विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।