बिरामी परेपछि साउथका स्टार रजनीकान्तले घोषणा गर्न सकेनन् आफ्नो नयाँ राजनीतिक पार्टी



रजनी कान्त साउथका सुपरस्टार हुन् । तर उनको डिमाण्ड र फ्यान फलोइङ बलिउडमा पनि उत्तिकै छ । उनै रजनीकान्तले डिसेम्बर ३१ मा नयाँ राजनीतिक पार्टी घोषणा गर्ने बताएका थिए । तर उनलाई स्वास्थ्यले साथ दिएन । रजनीकान्तको स्वास्थ्य खराब भएपछि केहीदिन अघि उनलाई अस्पताल भर्ना समेत गरिएको थियो । उनी बिरामी परेकाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने कार्यक्रम पनि स्थगित भएको छ ।

रजनीकान्तले सामाजिक संजालमा ३ पेज लामो प्रेस विज्ञप्ती सार्वजनिक गर्दै जनतासँग माफी मागेका छन् । रजनीकान्तले भनेका छन्–‘नयाँ राजनीतिक दल घोषणा गर्ने कार्यक्रम स्थगित गर्नुपर्दाको पीडा मैले मात्र वुझ्न सक्छु । म चुनावी राजनीतिमा नउत्रिकन जनताको सेवा गर्न तयार छु ।’

रजनीकान्त अस्पतालबाट डिस्चार्ज भैसकेका छन् तर उनी पूर्ण रुपमा स्वस्थ्य भने भैसकेका छैन । डाक्टरले उनलाई अझै केही समयसम्म आराम गर्न सुझाव दिएका छन् । स्मरण रहोस् सन् २०१७ मा रजनीकान्तको मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्