
प्रदिप खड्का युवापुस्तामाझ लोकप्रिय अभिनेता हुन् । उनको डिमाण्ड चलचित्रमा निकै नै रहेको छ । उनै प्रदिप आफ्ना विचारहरु सधैँ नै खुलेर व्यक्त गर्ने गर्छन् । यसैबिच उनले धेरै म्यूजिक भिडियोमा काम गर्दैमा कलाकारको स्टारडम कमजोर नहुने बताएका छन् । आजभोली म्यूजिक भिडियोमा नायक नायिकालाई धेरै देख्न सकिन्छ । त्यसैकारण पनि दर्शकले यस्तो कमेन्ट गर्न थालेका हुन् । तर प्रदिप भने म्यूजिक भिडियो खेल्दैमा कलाकारको स्टारडमलाई त्यसले असर नगर्ने बताउँछन् ।
उनले कुनै कलाकारले व्यक्तिगत जीवनमा गर्ने क्रियाकलाप र गलत काम गरे भने चाहिँ स्टारडम कमजोर हुने बताएका छन् । प्रदिपलाई पनि म्यूजिक भिडियोको अफर नआएको होइन । तर उनले त्यति म्यूजिक भिडियो गरेनन् । उनले यो क्षेत्रमा धेरै जनासँग चिनजान भएकाले एक जनाको म्यूजिक भिडियोमा काम गर्दा अर्काको चित्त नदुखोस् भनेर म्यूजिक भिडियोमा काम नगरेको स्पष्ट पारेका छन् ।
चलचित्रको बारेमा कुरा गर्ने हो भने प्रदिपले ३ चलचित्र साइन गरिसकेका छन् । जसमध्ये हेमराज विसीको निर्देशन रहने चलचित्र प्रकाश को छायांकन सबैभन्दा पहिले हुने बताइएको छ । यसपछि अर्को चलचित्रको काम सकेर प्रदिपले हुतुतु लाई समय दिनेछन् ।





