
अभिनेता अनमोल केसी यतिबेला चलचित्र ए मेरो हजुर ४ को छायांकन सकेर आराम गरिरहेका छन् । त्यसैपनि अनमोल काम नभएको समय घरमा नै बस्न रुचाउँछन् । उनलाई हुलमुल भन्दा पनि शान्त वातावरण मनपर्छ । जसका कारण उनी मिडियामा पनि त्यति देखिने गरेका छैनन् ।
चलचित्र ए मेरो हजुर ४ को केही प्रतिशत छायांकन बाकिँ नै छ । तर अनमोल स्वयमले जाडो महिनामा छायांकन नगरौँ भनेपछि केही महिनाको लागि चलचित्रको छायांकन सारिएको हो । त्यसका साथै अनमोलले चलचित्र ए मेरो हजुर ४ का केही सिनको लागि १० केजी तौल घटाउनु पर्ने छ । जसको तयारी अनमोलले सुरु गरिसकेका छन् ।
उनै अनमोल आफूलाई नेपालको हरेक क्षेत्रमा पुग्न मन भएको बताउँछन् । उनी वातावरणीय हिसाबले हेर्ने हो भने नेपाल स्वर्ग भएको बताउँछन् । उनलाई नेपालको हरेक कुनामा पुग्न मन छ । अनमोल आफू सकेसम्म सबै क्षेत्रमा पुग्ने प्रयास भने गर्ने बताउँछन् । ए मेरो हजुर ४ पछि अनमोलले आफ्नै होम प्रोडक्सनको चलचित्रमा समय दिनेछन् ।





