
कुनै समयकी सर्वाधिक चर्चित नायिका जल शाह अहिले नेपाली चलचित्र क्षेत्रमा त्यति सक्रिय छैनन् । उनले चलचित्र क्षेत्र छोडेको धेरै समय भैसकेको छ । जल शाहले निकै राम्रा चलचित्रहरुमा काम गरेकी छिन् । जसको कारण उनी यो क्षेत्रमा नभएपनि उनको चर्चा अझैपनि धेरै नै भैरहेको हुन्छ ।
उनै जल शाहले बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना मनका पिडाहरु पोख्ने गरेकी छिन् । जल शाहले आजभन्दा ३ बर्ष अघि आमा प्रेमा शाहलाई गुमाइन् । अमेरिकाको एक अस्पतालमा प्रेमाको निधन भएको थियो । जल शाह उनकी आमासँग निकै नै नजिक थिइन् । जसका कारण आमाको निधन हुदाँ उनी निकै नै टुटेकी थिइन् । गत आइतबार आमाको बार्षिकीमा उनले आमा र उनको तस्बिर पोष्ट गर्दै निकै नै मनछुने स्टाटस लेखेकी छिन् ।
जल शाहले ‘कहाँबाट सुरु गरुँ, कहाँबाट अन्त्य गरुँ । त्याग र प्रेम मेरो आमाको कसरी बयान गरुँ । तिमी मसँग नभएको पनि आज तीन वर्ष भएछ आमा । मलाई एकछिन नदेख्दा मेरो बोली सुन्न नपाउँदा तिमी कति बेचैन हुन्थ्यौ । तर तिमी त निष्ठुरी रहेछौ आमा ।’
जलले अगाडि लेखेकी छन्, ‘तिमीले मलाई तिम्रो ज्यान ममा बसेको छ भन्थ्यौ । तिमी मेरो लागि म तिम्रो लागि भनेको हैन रु मेरो आँखाको ज्योति, मेरो हातको लठ्ठी, मेरो हिँड्ने बाटो, मेरो एक मात्र छोरी भन्थ्यौ आमा । तिमी विना मेरो अस्तित्व नै छैन, मलाई टुहुरो बनायौ आमा ।’ ७५ वर्षको उमेरमा अन्तिम सास लिएकी प्रेमा लामो समयदेखि छोरीसँग अमेरिकामा बस्दै आएकी थिइन् ।





