शिवको गुनासो– ‘नेपाली संगीतमा साधना गर्ने परम्परा नै हरायो’



शिव परियार युवापुस्तामाझ लोकप्रिय गायक हुन् । उनले हरेक थरीका गीतमा आवाज दिइसकेका छन् र आफ्नो मधुर आवाजले दर्शकको मन पनि जित्न सफल भएका छन् । उनै शिव परियारले केहीसमय अघिमात्र नेपाली संगीतमा आजभोली गुणस्तर घट्दै गएको गुनासो पोखेका थिए । उनले आजभोली प्रतिस्पर्धाको समय भएकाले कसले भन्दा कसले गीत पहिले ल्याउने भन्ने मात्र भएको बताएका थिए । उनले हतारमा काम गर्ने बानीको विकास भएकाले दर्शकमाझ राम्रो संगीत पस्कने बानी धेरैको हराएको बताएका थिए ।

उनले फेरि एक अन्तवार्ता मार्फत नेपाली संगीतमा साधना गर्ने परम्परा नै हराइसकेको बताए । उनले भने, अहिले गीतसंगीतमा प्रोपोगान्डा खोज्ने चलन आयो । तर, पछिल्लो ९ महिनालाई हेर्ने हो भने यो शैली पूर्ण रुपमा असफल भएको देखिन्छ । दर्शकलाई हामीले संगीतमा बाँधेर राख्न नै सकेनौं । हामीले ३ महिनामा पाक्नुपर्ने बालीलाई एक महिनामै जर्बजस्ती सुई लगाएर पकाउन खोज्दा दर्शक भड्किए । यसैले त दर्शकले ९ महिना प्रोपोगान्डाले भरिएका भिडियो हेरेर समय कटाउनुपर्यो ।’

साथै उनले यहाँ नयाँ आएका कलाकारलाई अघि बढाउनुको सट्टा त्यसलाई हराएर आफू अगाडी बढौँ भन्ने भावना धेरैमा रहेको समेत बताए । उनले सबैजनाले संगीतलाई बुझेर, माया गरेर अगाडी बढ्नुपर्ने कुरा राखेका छन् । शिव यो क्षेत्रमा निकै मेहेनत गरेर आएका हुन् । त्यसैले उनी नेपाली संगीतबाट मौलिकता नहराओस् भन्ने चाहन्छन् । यसको लागि सबैले गम्भिर भएर सोच्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्