“नेकपाको समस्या हल गर्न ओली, प्रचण्ड र माधव नेपाल मिल्नैपर्छ”



नारायण दाहाल, अध्यक्ष, नेकपा बाग्मती प्रदेश कमिटी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गत बैशाखदेखि अन्तरविरोधको कारणले पार्टी सशक्त ढगंले अगाडि बढ्न सकेको छैन । भदौ २६ मा भएको स्थायी कमिटीको बैठकबाट पार्टीभित्रको विवाद केही साम्य हुने स्थितिमा पुगेको थियो । तर स्थायी कमिटीले बनाएका निर्णयहरु कार्यान्वयन गर्ने सन्दर्भमा पुनः विवाद उत्पन्न भएको हो ।

विशेषगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निभाउन पर्ने जिम्मेवारी र उत्तरदायित्वको विषयमा पार्टी कार्यकर्ता र आम जनता असन्तुष्ट भएका छन् । यसैको असर पार्टी जीवनमा समेत पर्न गएको छ । प्रधानमन्त्री ओली पार्टीको बैठकमा नआउने, लागू गरेका निर्णयहरु मान्दिन भन्ने, छलफल गर्नैपर्ने विषयमा सहभागी नभइदिने, पार्टी बैठक र सरकार सञ्चालनमा लापरवाही गर्नाले पार्टीलाई यस सहि बाटोबाट अघि बढाउन अध्यक्ष प्रचण्डले लिखित दस्तावेज पार्टीको सचिवालयको बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रचण्डसँगै सचिवालयका ९ जना सदस्यमध्ये ५ जना सदस्यको सहमितमा प्रस्तुत दस्तावेजले पार्टीभित्र अझ विवाद चर्किएको देखिन्छ ।

प्रधानमन्त्री ओलीले पूर्व एमालेलाई धम्क्याएर, फकाएर, आफ्नो काबुमा पारेको जस्तै गरी प्रचण्डलाई पनि काबुमा पार्न खोजेका रहेछन् । तर त्यो सफल भएन । प्रधानमन्त्री ओलीमा मलाई जनताले चुनेर प्रधानमन्त्री बनाएको हो, महाधिवेशनबाट चुनेको अध्यक्ष मलाई कसले हटाउन सक्छ भन्ने भ्रमलाई तोड्नुपर्ने देखिन्छ । उहाँ दुवैजना अध्यक्षहरुलाई पार्टीको संयृुक्त केन्द्रीय सदस्य (४४३ )जनाको कमिटीले बनाएको हो । प्रधानमन्त्री ओली कुनै महाधिवेसनबाट चुनिएको प्रधानमन्त्री होइन । त्यसैले कुनै महाधिवेशनप्रति उत्तरदायी हुने कुनै महाधिवेशन नै छैन । उहाँहरु दुईजना अध्यक्ष नै नेकपाको केन्द्रीय कमिटीप्रति उत्तरदायी हुनुपर्छ ।

राजा रहेको अवस्थामै प्रधानमन्त्री ओलीले गणतन्त्र आउनु भनेको बएलगाढामा चढेर अमेरिका जानु जस्तै हो । यो नेपालमा गणतन्त्र आउनु भनेको असम्भव कुरा हो भन्नुभएको थियो । गणतन्त्र आउने कुरा उहाँको कल्पनामै थिएन । संघीयता यो देशमा हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले सोच्नु समेत भएको थिएन । उहाँको सोच अग्रगमनतिर कहिल्यै गएको देखिदैँन । खाली पश्चगमन, यथास्थितिमा रमाउने, त्यसैमा बस्ने मात्र हो । त्यतिमात्र होइन उहाँले कहिल्यै पनि जनता, देशको बारेमा सोच्नुभएन । त्यसैले सबै चिजको नेतृत्व राजनीतिक कमाण्डरले विचार मार्फत गर्ने हो । नेकपामा हाल दुई अध्यक्षबिच केपीको एकतर्फी विचार धारणाले समस्या निम्त्याइरहेको छ । सबै कमाण्ड गर्ने राजनैतिक ढगंले, वैचारिक ढगंले, विश्व दृष्टिकोणले, राजनैतिक कार्यदिशा निर्माण गर्ने ढगंले र त्यो कार्यदिशालाई कार्यान्वयन गर्ने र सञ्चालन गर्ने ढगंले प्रचण्ड चाहिँ धेरै डाइनामिक अध्यक्ष हुनुहुन्छ ।

प्रचण्डको मुटु र खुट्टा दह्रा छन् । उहाँमा पार्टी एकताबद्ध गर्ने क्षमता छ । पार्टीलाई सुदृढ बनाएर लैजाने उहाँको अर्को विशेषता हो । नेकपाले चुनावी घोषणापत्रमा जे प्रतिबद्धता गरेको थियो त्यसलाई अगाडि बढाउने, समाजवादको यात्रामा अघि बढ्दै समाजवादी क्रान्ति सम्पन्न गराउने नै प्रचण्डको मुख्य कदम हो । देशको निम्ति जस्तोसुकै बलिदानको लागि पनि अध्यक्ष प्रचण्ड हरदम तयार हुनुहुन्छ ।

नेकपाभित्र उत्पन्न समस्यालाई समाधान गर्नको लागि प्रधानमन्त्री ओलीसँगै, प्रचण्ड, माधव कुमार नेपाल, बामदेव गौतमले आपसी छलफलबाट मुख्य विषयवस्तुमा साझा निर्णय गरी अगाडि बढ्नु मात्र नेपाली जनता, पार्टी कार्यकर्ता र सिंगो राष्ट्रको हितमा हुनेछ ।

(नेकपा बाग्मतीका अध्यक्ष नारायण दाहालद्धारा नेपाल लाइभमा दिएको अन्तवार्ताका आधारमा तयार पारिएको फिचर)

भिडियो सहित-

प्रतिक्रिया दिनुहोस्