कुनै समयकी सर्वाधिक चर्चित नायिका तृप्ति नाडकरका छोरा नेपाली फिल्ममा देखिदैँ



तृप्ति नाडकर नेपाली चलचित्र जगतकी एक समयकी सर्वाधिक चर्चित नायिका हुन् । उनले थुप्रै ब्लकबस्टर फिल्ममा काम गरेकी छिन् । उनले खेलेका सम्झना, कुसुमे रुमाल, लाहुरे लगायतका चलचित्र अझैपनि दर्शकको मनमा छन् । उनै तृप्ति नाडकर लामो समयदेखि फिल्ममा देखिएकी छैनन् । विवाहपछि नै उनी फिल्म क्षेत्रबाट टाढिएकी हुन् ।

विवाहपछि तृप्ति आफ्नो परिवारसँग भारतमा बस्दै आएकी छिन् । तृप्ति त अब फिल्ममा फर्कने सम्भावना निकै कम छ । तर उनका छोरा धिरज टोटलानी अब नेपाली फिल्ममा देखिने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलले उनलाई हिरो बनाउन लागेका हुन् ।फिल्ममा धिरजसँगै अभिनेत्री अदिती बुढाथोकी र गायक नितेशजंग कुँवरको पनि अभिनय रहनेछ । फिल्मले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने बुझिएको छ ।

बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रेपरेस’ कलेजबाट अभिनयको कोर्ष गरेका धिरजले थुप्रै सर्ट फिल्म तथा विज्ञापनमा काम गरेका छन् । चकलेटी लुक्सका धिरजलाई फिल्म अफर गर्न निर्देशक पौडेल मुम्बई नै पुगेका थिए । फिल्मको स्क्रिप्ट मन परेपछि उनी काम गर्नका लागि तयार भएको जानकारी प्राप्त छ । उनी फिल्मको छायांकनका लागि चाँडै नेपाल आउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्