‘राष्ट्रवाद’ का कारण भारतीय स्थल सेनापति आउँदा नेपाली सेनालाई अलग्गै दु:ख



एकथरि नेपाली छन्, जो कोही भारतीय पाहुना आए सडकतिर लम्पसार पर्नुलाई नै राष्ट्रवादी हुनु मान्दछन् । यस्तो ‘राष्ट्रवाद’ का कारण नेपाली सेनाले यसचोटि अलग्गै दुःख व्यहोरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा गत साता काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई ‘राष्ट्रवादी’ का कालो झण्डा र धर्नाबाट जोगाउन केही किलोमीटरकै दूरीभित्र हेलिकोप्टर प्रयोग गर्नुप¥यो । बाटो बदलेर गन्तव्य पु¥याउँदा अतिरिक्त समय पनि खर्च भयो ।

सेनाले नरवाणेलाई पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट कटाएपछि देब्रेतिर लागेर तीनकुने, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजा पु¥याउने योजना थियो । तर, माइतीघर मण्डलामा कालोझण्डा बोकेर केही ‘राष्ट्रवादी’ भेला–जम्मा भएको सूचना पाउनासाथ सवारी रुट एकाएक फेरियो, गोल्डेनगेटबाट देब्रे लागेर कोटेश्वर, ग्वार्को, सातदोबाटो, बल्खु हुँदै कालिमाटी निकाली सोल्टी होटल पु¥याउने । यस्तो गर्दा निर्धारित समय तालिकाबाट केही समय बढी खर्च भयो, तर पाहुनालाई देशमा छिर्नासाथ कालो झण्डा हेर्नुपर्ने झण्झटबाट पार लगाइयो ।

नरवाणेपत्नी तथा इण्डियन आर्मी वाइभ्स एसोसिएसनकी अध्यक्ष बीनासहित एक मेजर जनरल र फुल कर्णेल रहेको चार सदस्यीय टोलीलाई त्यसपछिका यात्राहरू हेलिकोप्टरबाट गराइयो । उनीहरूलाई राखिएको होटल सोल्टीका तीनवटा सुइट रुमको ठीक बाहिरपट्टिबाटै उच्च सुरक्षासाथ कम्पाउण्डमा ल्याउनका लागि छाउनीस्थित रेञ्जर गण र बिशेष सुरक्षाबल सहितका विभिन्न बटालियनमध्ये कोही सैनिक पोशाकमा त कोही सादा पोशाकमा तैनाथ थिए ।
त्यसरी सोल्टीबाट जंगीअड्डा र त्यहाँबाट बालुवाटार, शीतल निवासका भ्रमण भने बुलेटप्रुफ गाडीमा बलियो सुरक्षा घेराबीच गराइएको थियो । त्यस प्रयोजनका लागि बाटोभरि सादा पोशाकका सेना छ्याप्छ्याप्ती थिए । यतिसम्मकि, प्रहरीबाट सूचना चुहिएला भनेर सेनाले त्यति बाक्लो समन्वय गरेन । नरवाणे हेलिकोप्टरबाट उपत्यका पृतनामा ओर्लिएपछि मात्रै दरबारमार्ग, सोह्रखुट्टे र मालिगाउँ प्रहरी बृत्तले चाल पाएका थिए । फर्किने दिन भने सोल्टीबाट उडेको हेलिकोप्टर त्रिअविस्थित सेनाको हेलिप्याडमा अवतरण भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुँदा दुबैको चासो थियो, दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने । विविध कारणले चिसिएको सम्बन्धलाई प्रगाढ बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताबारे कुरा गरे । नरवाणेले ‘शुरु गरौँ, म पनि पहल गर्छु’ भने । त्यसो त, उनी आफैँमा सुरक्षा क्षेत्रका मानिस हुन् । मिलिटरी डिप्लोमेसीले गर्ने धेरै होइन । तर, बन्धन खुल्छ भन्ने अपेक्षा नेपालको छ ।
नरवाणेको सम्मानमा आयोजित औपचारिक रात्रिभोजमा कुनै क्याटरिङलाई काम दिइएन । नवनिर्मित जंगी अड्डाको भुइँतलास्थित पुमोरी हलमा सेनाभित्रै तालिमप्राप्त कुकहरूले तयार पारेको परिकार थियो । त्यसअवसरमा पाइपर टोलीले बाजा बजाउँदै रात्रिभोजलाई रोमाञ्चित बनायो । स्कटल्याण्डको व्यागपाइपर टोलीजस्तै नेपाली सेनाले पनि राणाकालदेखि नै यस्तो अभ्यास थालेको हो ।
रात्रिभोजमा नरवाणेले मन्तव्य दिँदा कुनै लिखत पल्टाएनन्, मनमा जो लाग्यो, त्यही बोले । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले भने लेखेर तयार पारिएको शान्दार अंग्रेजी मन्तव्य व्यक्त गरे ।

नरवाणेको यो भ्रमणमा नेपाल र भारतीय सेनाबीच वर्षौंदेखि चल्दै आएको सैन्य अभ्यासको क्रम थप गर्ने सहमति भएको छ । भारतमा नेपाली सेनाबाट सयको हाराहारीमा विभिन्न दर्जाका सैनिकहरू तालिम लिन जाने गरेका छन् । अहिले कोभिड संक्रमण चुलिएको बेला पनि ७० को हाराहारीमा तालिमरत छन् । भारतमा नेशनल डिफेन्स कोर्ष (एनडिसी) जानेको संख्यामा बृद्धि गरिने सहमति पनि भएको छ ।

यसचोटि नरवाणेमात्रै आएनन्, त्यसअघि नै सैन्य सहयोगका सामान काठमाडौं आइपुगेको थियो । उनको भ्रमणकै अवसरमा भारतले दिएको एम्बुलेन्ससहितका सामान सैन्य सहयोगअन्तर्गतका थिए ।
यसअघि सुशील कोइराला प्रधानमन्त्री रहँदा भारतीय सेनाले नेपाललाई ‘ध्रुव’ नामक ९ सीटे हेलिकोप्टर दिएको थियो । त्यही हेलिकोप्टरको एक अर्ब तिर्नुपर्ने भनिँदै छ । जनआस्था सप्ताहिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्