
अभिनेत्री ऋचा शर्माले केहीदिन अघि कोरोना जितिन् । २ हप्तासम्म होम आइसोलेनसमा बसेर उपचार गरेपछि उनी कोरोनामुक्त भएकी हुन् । ऋचाले कोरोनामुक्त भएपछि आफ्नो युट्युब च्यानलमार्फत आफ्नो अनुभव सेयर गरेकी छिन् ।
उनले आफूले विशेष कामले बाहिर जानुपर्दा मास्क र सेनिटाइजर हरेक पटक प्रयोग गर्ने गरेको र घरमा बस्दा पनि हात पटक पटक धुने गरेको गर्दा पनि आफूलाई कोरोना लागेको देख्दा अचम्म लागेको बताइन् । उनले कोरोनाबाट बच्ने सुरक्षाका सबै उपायहरु अपनाइरहेकी थिइन् । तर यति गर्दा गर्दै पनि उनलाई कोरोना लाग्यो ।
ऋचाले कोरोना पोजेटिभ आएपछि आफू तुरुन्तै आइसोलेट भएको बताइन् ।
ऋचाले आफु आइसोलेसनमा बसेपछि हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने, नुन पानी प्रयोग गर्ने गरेको बताएकी छन् । त्यस्तै, चिकित्सकको सल्लाह बमोजिम आफूले कोडोपार र जिंक औषधी सेवन गरेको उनले बताइन् ।
अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउनु हुँदैन । मैले चाहिँ आइसोलेसनको समयमा कमेडी फिल्म धेरै हेरेँ । कति झुर फिल्म पनि हेरेँ । तर, त्यसले मलाई दिमागलाई यताउति जान दिएन । अहिले म एकदमै स्वस्थ छु ।’आइसोलेसनमा बसेपछि मन डुलाउन नहुने उनको भनाई छ । यसो गरेको खण्डमा कोरोनालाई पराजित गर्न सकिने कुरा बताएकी छन् ।





