
यतिबेला नेपाली सिने जगतमा जितु नेपाल अर्थात मुन्द्रे दिपक दिपाको समूहबाट बाहिरिएको खबरले निकै नै चर्चा पाइरहेको छ । दिपक दिपाले सुरुवाती दिनदेखि नै ठूलो समूहमा काम गर्दै आएका छन् । टिमको महत्वपूर्ण सदस्य जितु नेपाल पनि हुन् । वडा नम्बर ६ बाट सुरु भएको दिपक दिपाको फिल्मी यात्रामा जितु सुरुवाती दिनदेखि नै साथ दिदैँ आएका छन् । यसले जितुलाई पनि धेरै नै फाइदा भएको छ ।
अब भने जितु दिपा दिपकको टिममा नभएको खबर बाहिरएपछि यसबारे टिकाटिप्पणी हुन थालेको हो । लकडाउनको समयमा एक अन्तवार्तामा राजेश हमालको महानायक उपनाममा दिपाले प्रश्न उठाएपछि उनी नराम्रोसँग विवादमा तानिइन् । जसका कारण लकडाउन पछि बन्द भएको मुन्द्रेको कमेडी क्लब लकडाउन पछि नयाँ भाग सहित सुरु हुदाँ अध्यक्षको रुपमा रहेकी दिपाश्री निरौलाको ठाउँमा करिश्मा मानन्धर भित्रिइन् । त्यहाँबाट नै जितुको दिपा दिपकको समूहसँग झगडा भएको हल्ला बजारमा चल्न थाल्यो ।
यसबारे हालैमात्र जितुले आफ्नो अभिव्यक्ति दिएका छन् । जितुले समाचारमा आएजस्तो आफूहरुको सम्बन्धमा त्यस्तो कुनैपनि दरार नआएको बताएका छन् । उनले छक्का पञ्जा समूहबाट आफू निस्केको स्वीकार्दै आफ्नो सम्बन्ध भने उक्त टिमसँग पहिले जस्तो रहेको अहिले पनि त्यस्तै रहेको बताएका छन् । साथै जितुले यति सानो कुरालाई ठूलो बनाएर अनावश्यक हल्ला नफिजाइदिन आफ्ना शुभचिन्तकलाई आग्रह गरेका छन् ।





