
काठमाडौं । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पुर्याउन छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउने छलफल भएको हो । नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो ।
सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् ।
नेपालबाट भारततर्फ उडानका लागि महेन्द्रनगर, भैरहवा नाकाको प्रयोग भइरहे पनि यो एकतर्फी मात्र छ । भारततर्फबाट ती नाका हुँदै नेपाल प्रयोग प्रवेश हुनसक्ने अवस्था छैन । नेपालले यी चारवटै नाकामा दोहोरो उडान अनुमतिका लागि भारतसँग सहमति गरे पनि अहिलेसम्म यसले निष्कर्ष पाउन सकेको छैन । त्यसका लागि भारतलाई नेपालले पत्राचार भने गरिसकेको छ । शुक्रबारको छलफलमा सोही पत्राचारलाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो ।
कोभिडका कारण बन्द भएको नेपाल–भारत नियमित उडान पुनः सञ्चालन गर्ने विषयमा पनि मन्त्री भट्टराई र राजदूत क्वात्राबीच छलफल भएको छ । दुई देशबीच हाल बन्द उडान चाँडो सञ्चालन गर्ने विषयमा उक्त छलफल केन्द्रित थियो । यसबाहेक पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।





