कोरोनाले गलैंचाको व्यापार ८० प्रतिशतले घट्यो



काठमाडौं । बन्दाबन्दीको शुरुआतदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी आएको छ ।

नियमित उडान खुलिसकेको अवस्थामा समेत अन्तरराष्ट्रिय बजारमा गलैंचाको माग नहुँदा व्यापार घटेको छ र निर्यात पनि प्रभावित बन्न पुगेको छ । नेपालमा उत्पादित गलैंचाको निर्यात अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत ५० भन्दा बढी मुलुकमा हुने गर्छ । यसमध्ये करीब ७० प्रतिशत गलैंचा अमेरिकामा निर्यात हुने गरेको छ । तर, अमेरिका कोरोना महामारीको ठूलो चपेटामा परेका कारण नेपाली गलैंचाको व्यापारमा नराम्रोसँग धक्का पुगेको हो ।

बन्दाबन्दीका समयमा नियमित उडान बन्द हुँदा सीमित मात्रामा माग भएका गलैंचाको निर्यात चार्टर उडानमार्पmत गर्नु पर्दा उद्यमी व्यवसायीहरूलाई महँगो परेको थियो । तर, हाल नियमित उडान खुला भए पनि व्यवसायीहरूले सामान्य अवस्थाको तुलना करीब ३ प्रतिशत बढी भाडा तिर्नु परेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष तेन्जिङ शेर्पाले बताए ।

उनका अनुसार यसअघि अमेरिकी मुलुकमा गलैंचा निर्यात गर्दा प्रतिकिलो भाडादर करीब ४ डलर पर्ने गरेकोमा हाल १२ डलरसम्म पर्ने गरेको छ । त्यसैगरी यूरोपेली मुलुकमा प्रतिकिलो ३ डलर पर्नेमा अहिले ९ डलरसम्म पर्ने गरेको छ । (आर्थिक अभियान)

प्रतिक्रिया दिनुहोस्