अमृतपानको लोभले निम्तिएको विष बमन



–डा. उत्तम खनाल (विश्लेषक)

सत्य युगमा देवता र दानवको युद्ध भयो । देवताले दानवलाई कुनै जुक्ति गरे पनि युद्धबाट हराउन सकेनन् किनकी उनीहरु ज्यादै वलवान थिए । दानवलाई जितेर संसारबाट आसुरी शक्तिलाई सदाको लागि अन्त्य गराउने योजना अनुरुप समुन्द्र मन्थन गरेर अमृत निकाल्ने निर्णयमा देवताहरु पुगे तर त्यो काम दानवको सहयोग विना पनि सम्भव थिएन । दानवलाई साथमा लिएर शेष नागको डोरी र मन्दराचल पर्वतको मदानी बनाएर सागर मन्थन गर्नु सजिलो थिएन तर देवताहरुले दानवलाई साथमा लिदै त्यो काम सम्पन्न गराए ।

देवता हुनुको नाताले उनीहरुले अमृतको पान गर्ने सौभाग्य पनि पाए तथापि समुन्द्र मन्थन गर्दा निस्केको कालाकुट विषले संसार सखाप बनाउन थालेकाले स्वय देवताको देव महादेवले त्यसलाई पान गर्नु प¥यो किनकी संसार चलाउनका लागि त्यो विष पिउनु पर्ने थियो । महादेवले त्यो विषलाई पिउने नाउँमा सधै आफ्नो घाँटीमा राखेर निलकण्ठको उपमा प्राप्त गरी संसारलाई चलाउनु प¥यो र अमृतको सेवन अरु देवताले गरेको हेरेर बस्नु प¥यो ।

अध्ययताहरुका अनुसार जगत हितका लागि वनाईएको सौम्य नीति शास्त्रको रुपमा वेदलाई लिईने गरिएको छ । यसले पूर्ण जगत हितायका लागि मानिस र अन्य प्राणीहरुको पनि कल्याण गर्दछ । त्यही वेदमा यसो पनि भनिएको छ कि मानिसले कहिले काही हिंसा पनि गर्नु पर्छ भनेर । तर हिंसा केका लागि गर्ने र केलाई कसले गर्ने भनेर स्पष्ट किटान गरिएको छैन । केही विद्दानहरुले भनेका छन्ः हिंसाको अर्थलाई सहि ढंगले व्याख्या गर्न वा गराउन सकिएन भने त्यस्को परिणाम भयावह हुन्छ ।

फलस्वरुप अज्ञानता र अल्प ज्ञानका कारण मानिसले आफूवाहेक अन्य सबै प्राणिलाई वध गर्नु पर्छ भन्ने धारणाको विकास गराउन पुगे । परिणाम मानिसले आफू वाहेक सारा निर्दोष प्राणीको हत्या गरेर पूण्य कर्म गरेको दावी गर्न छाडेन र समाजलाई हिंसा गर्न उत्प्रेरित गरायो । आफ्नो अभिष्ट प्राप्तिका लागि उसजे जे जति चौपाया वा पशुपंछिहरुको निरमम् हत्या गराउनुको कारण थियो बुझाइमा भएको कमजोरीपन । जो आफूमा आएको कमजोरी र हुंकार थियो अनि जसले ति निर्दोष प्राणिको उदण्ड तवरले जतिलाई भेटे समात्दै काटे अनि आफू अनुकुलका मासुका विभिन्न परिकार बनाएर पनि खाए । यसलाई विजयको उन्माद ठानियो र मत्ताहात्तिको चालवाजीमा हुंङकार पनि मच्चाईयो तर निर्दोष आत्माले उन्मुक्ति पाउन सकेन ।

यि कर्म केवल धर्मका नाममा देवीदेवता भाकल गर्दै पशुपंक्षीहरुको आलो रगतमा होली खेलिनु नै ठानियो । के वेदमा लेखेको हिंसाको अर्थ पशु हत्या हो त ? के पवित्र ग्रन्थ वेदले पशुहिंसाका लागि मानिसलाई पेरित गरिरहेकै हो त ? यदि हैन भने के हो वेदले भनेको वास्तविक अर्थ ? के अन्य प्राणी भन्दा शक्तिशालि हुनाले नै हो त मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको ? यि यावत प्रश्नको उत्तरमा विलकुल त्यस्तो कर्मलाई जोड दिईएको छैन । बरु मानिसले सबै प्राणीको हित गर्नुपर्छ भनिएको थियो वेदमा ।

अनि वेदले वताए अनुसार हिंसाको अर्थ हो, “मानिसमा कुनै वेला यस्तो कुवुद्धिको घमण्डले वास गर्छ यदि यसलाई आफैले आफैद्धारा मारिएन भने त्यसको जड मौलाउदै सारा जगतलाई धमिल्याई दिन सक्छ” । फलस्वरुप आफू भित्र रहेको कुविचार र घमण्डको हिंसा गरिएन भने न जगतको हित हुन्छ नत आत्मा शान्ति नै मिल्छ । यसकारण कुविचारको हिंसा गर, घमण्ड र तामसिपनको अन्त्य गर अनिमात्र मानव जीवनको अर्थ शार्थक रहन्छ भन्न खोजिएको थियो ।

तर यसको ठिक उल्टा अपव्याख्याका कारण मानिसले आफू भित्र भरिएको लालचीपन, घमण्ड, क्लेश, ईस्र्या आदिलाई हिंसाद्धारा अन्य गराउन सकेन बरु उसले त उल्टै प्राणीहरुको निरमम तरिकाले हत्या गर्दै जगतमा अशान्ति फैलायो । भगडा एवं कोलाहल मच्चियो र बलियाको अगाडी निर्दाको सत्य विचार पनि झुटा सावित हुँदै गयो । जसरी जगत हितका लागि आफ्ना चेलाहरुलाई बुद्धले कहिल्यै झुटा नबोल्नु भनि अर्ति उपदेश दिए । तर त्यसको अर्थ यो पनि थिएन कि साँचो बोल्दा कसैको ज्यान जाओस् । यसै कारण बुद्धले स्वयम पनि झुटा वोलेका थिए तर त्यसमा कसैको ज्यान बचाउनका लागि चालिएको सत्कर्म थियो ।

महर्शी भृगुले पनि प्राणी हितका लागि वेद तथा विज्ञानको सामिप्यता परिक्षण गर्न योग, दर्शन र वनस्पति अध्ययनको गहिराई पहिचान गराएका थिए । व्यास ऋषिले वेदलाई सबैले बुझ्ने सरल वनाउन चार भागमा विभाजन गरे । राजनीति कर्मीले आफ्ना एजेण्डाहरु कार्यान्ययन गराउन वेदकै अनुसरण गर्दै साम, दाम, दण्ड र भेद नीतिको अनुसरण गराए तर सहि समयमा उचित कार्यावोध सहितको दिशा पहिचान हुन नसक्नुले अवतरण असहज बन्दै गयो ।

भावना र विचारहरु सहि रहँदा रहदै पनि कहिले काहीे बुझाईमा आउने कमी र अपव्याख्याका कारणले एउटा विषयको अर्थ अनर्थ हुन सक्छ । स्पष्ट रुपमा बुझाउन नसक्नु पनि कमजोरी नै हो । अहिलेको संविधानले दलहरुले भने झैं वेदकै नीति सरह अधिकार स्थापित गराएको भए पनि त्यसको अनुभूति नागरिकले गरेका छैनन् । प्रकाण्ड राजनैतिक विद्दानहरुको सत्तालोलुपता एवं आफू अनुकुलका अपव्याख्या वा अल्पव्याख्याले गर्दा साम्प्रदायिक एकता माथि आँच आउने गरेका छन् । यसैले होला कुनै एउटा समस्या मत्थर नहुँदै अर्को परिघटनाको रुमाल थापिएको देखिन्छ ।

कहिले काही न्यायालय भित्रैबाट पनि अन्याय भएको कुरा बाहिर आउने गरेको छ । आजकाल अमेरीकामा समेत वेद ग्रन्थको अध्ययन अनुशन्धान र अनुसन्धान गर्दै त्यसको अनुसरण गर्ने काममा कृयासिल हुँदा नेपालमा भने यसलाई अनादर किन गरिदैछ भन्ने आवाज उठेको छ । रुस, जहाँ हिन्दुधर्मको व्यापक अध्ययन हुन्छ र भागवत गीतालाई रुसीहरुले नेपालमा आएर नेपालीहरुलाई सिकाउन पनि थालिसकेका छन् । आज तिनै विश्वका हिमायति मानिने राष्ट्रहरुमा मानिसको ध्यान गुम्वा र मन्दिर तर्फ केन्द्रित भएको अवस्थामा मातृभूमिमा तिनीहरुको अस्थित्व संकटमा रहेको देखिन्छ ।

नेपालीहरुले केवल खान र खुवाउनका लागि देखोसिको मार्फत आफ्नो धर्म, संस्कृत, परम्परा र रितिरिवाजलाई बेचिरहेका छन् । तिनीहरु आफै हवाला दिन्छन् कि भ्रष्टाचार गरिदैन भनेर तर जसले भ्रष्टाचार गर्दिन भनेर भन्छन् तिनीहरु नै कमाउने खेतिमा व्यस्त भएको देखिन्छ । कोरोनाले आक्रान्त नेपाली समाजमा जनताको हितमा भन्दा आफ्नै स्वार्थ पुरा गराउने कृयाकलापमा लागेको नेकपाको पार्टि विभाजनको संकट हाललाई टरेको छ तर त्यसको तुष मेटिएको छैन ।

हामीले जनताका नाममा धेरै गरिरहेका छौ भन्ने दलका खेलाडीहरु आफ्नै स्वार्थ र आसेपासेमा भासिदै दलिय भागबण्डाका आधारमा सरकारले गरेको नियुक्तिबाट सबैको आँखा खुलिसकेको छ । हिजोका दिनमा वेदकै सरह जनतालाई अमृत चटाउँने कवोल गर्नेहरु आज जनता भोकले मर्दा आफू अमृत पियर डकार्दै हिडेको कुरा ति भोका पेटहरुले लकडाउन्को समयमा देखाईसकेको छ । नियम र कानूनको जप तिनैले गर्ने तर शक्तिका आसेपासेलाई त्यो नियम र कानूनले कुनै फरक नपार्ने कुरालाई पनि सावित गराउँदै गयो ।

नेपालमा जनताको नाम भज्दै आफ्नो स्वार्थ पूरा गर्न हरेक दलका व्यक्ति नेता हुन चाहने तर नेतृत्व भागबण्डा गएर सिमति पारिने अभ्यास सामान्य बन्दै गयो । पार्टी भित्र पनि निष्ठाको राजनीति गर्नेले कुनै अवसर नपाउने तर नेतृत्वको सधै आसपास रहिरहनेले लाभको पद पाईरहने प्रवृति बढेर जाँदा नेपालको राजनैतिक आकाश दलिय अभ्यासको चरणबाट विलय हुँदै गएको भान सबैतिर परेको चर्चा चलिरहँदा दल नै व्यक्ति हो भन्ने कुरालाई सावित गराउँदै आएको ज्वलन्त उदाहरणहरु देख्न सकिन्छ ।

यसको पूष्टि चाहे त्यो सरकार बनाउन होस् या पार्टी एकिकरण गरिएको भन्ने विषयमा किन नहोस् त्यहाँ विचार र सिद्धान्तको कुनै काम गरेको देखिदैन बरु पदिय अधिकारका विषयमा भागबण्डा लगाईको भेटिन्छ । अहिलेको संघियताको अभ्यासका प्रतिफलहरु जनताका नजरमा यस्तै बनेको छ र भन्ने गरेका छन् कि संघियता त नेताका लागि भाग मिलाउनका लागि ल्याईएको व्यवस्था पो रहेछ । जनतालाई सेवा कुनै दिन नसक्ने तर करको भार वोकाएर पाल्नुपर्ने प्रदेश सरकारको औचित्य समाप्त भएको कुरा कोभिड १९ संक्रमणको घडीले झन प्रष्ट पारिदिएको छ । जनताले भन्न थालेका छन् कि अब किन चाहियो यो जनतामारा शासन प्रणली ।

देश विकास गर्ने हो भने स्थानिय सरकार र केन्द्रिय सरकार नै अत्यन्तै उपयोगि हुने छ जसले वेदकै ऋचाको अनुसरण गराउन सहयोग सावित हुनेछ भन्ने जमात बढेर आएको हुँदा भोलिका दिनमा दलमाथि ठुलै विरोधको आवाज उठ्ने संभावना देखिन्छ । उनिहरुले सूरुमा प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउने र त्यसपछि प्रदेश सरकार बनाउँदा राजनीति गर्नेले प्रत्येक प्रदेशमा सभामूख, उप सभामुख, मुख्यमन्त्री र प्रदेशप्रमुख सहित लाभको पद वितरण गरिने अनि जनताले हेरेर बस्नु पर्ने वातावरणले आक्रोसको आँधिवेरि सृजना गराउन सक्ने छ ।

योे विषम परिस्थितिको सामना गर्न सरकारले जीवन भन्दा धन ठुलो हुँदैन भनेर चैत्र महिनादेखि नै लकडाउन गरायो तर जब अहिले दैनिक १३०० माथिको संख्यामा व्यापक संक्रमण फैलिदै गएको अवस्थामा अर्थतन्त्र चलायमान गराउने नाममा विद्यालय र सिनेमाहल वाहेक अरु सबै क्षेत्रहरु खुलाएर अनौठो चरित्र देखाएको कुरालाई कसरी बुझ्ने ? सरकारले जनताको स्वास्थ्यमा ध्यान दियो कि अर्थ संकलनको वाटो रोजेको देखियो ? यदि आज आएर यस्तो निर्णय लिनु थियो भने हिजोका दिनमा कोरोनाको संक्रमण नै नहुँदा आम नागरिकलाई किन त्रसित बनाएर लकडाउन गरायो र नागरिकको जीवन संकटपूर्ण बनायो । यो सवालमा भोलिका दिनहरुमा सरकारक संचालनको जिम्मेवारी लिएको दलसँग जनताले चित्तबुझ्दो जवाफ खोज्नेछन् भने प्रमुख प्रतिपक्ष दलको जनता प्रतिको जिम्मेवारी र कार्यसैलिको बारेमा पनि प्रश्न उठाउने छन् ।

यो समयमा नेपाली अर्थव्यवस्थालाई चलाएमान बनाउनु आवस्यक थियो नै तैपनि कारोनाको कहरमा दुखेको घाउमा विस्तारै मलमपट्टि लगाउँदै वास्तविक जीवनमा फर्काउने अभ्यास आजको माग थियो । “सक्नेले खाउ र गर तर नसक्ने मर” भन्ने रणनीति विश्वका कुनै पनि कम्युनिष्ट सरकारले सोच्न नसक्ने कुराको झल्को आम नेपाली जनताको मनसपटलमा चक्कर मार्न छाडेको छैन । हिजो स्वास्थ्यको कुरा गर्नेले आज स्वास्थ्य संकटको समयका स्वास्थ्यलाई सामान्य रुपमा लिनुले जनता ससंकित भएका छन् ।

यसको वास्तविकता के हो जनता माझ उजागर गराउने नैतिक दायित्व तिनै राजनैतिक दलहरुको हुनेछ । एउटा कर्मचारी सेवाबाट बाहिरीएको कारण त्यसको निरन्तरता दिनुपर्छ भनेर सडक तात्ने र एउटा डाक्टरले जनस्वास्थ्यको सवाल उठाउँदा अनसन बस्ने परिपाटी विकसित भएको देशले भोलिको दिनमा कस्तो कार्यदिशा समात्ला भनेर हेर्न बाँकी छ । के आम जनतामा फैलिएको निराशाको ज्वालाले राजनैतिक पद्धतिमा विकसित दुराचार, भ्रष्टाचार र व्यक्तिवादी चरित्रलाई अन्त्य गराउन सक्लात ?

संसार चलायमान गराउन जसरी वेदको विकास भयो, समुन्द्र मन्थन गरेर निस्किएको अमृतपान देवताले गर्न पाए त्यसरी नै नयाँ कामको थालनी गर्दा आएको समस्याको दोषको दायित्व लिने हैसियत नेताले बनाउन सक्नुपर्छ अनि मात्र उसले आफुलाई नेताको दावी गराउन सक्ने हुन्छ । आफूले गरेको गल्तीको आलोचना समेत सुन्न नसकेर आफ्नै कार्यकर्तालाई वोल्न र लेख्नको लागि प्रतिवन्ध लागाउने नेता दलको त हुन सक्ला तर जनताको नजरमा कदापि हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्