सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन भोलिदेखि



काठमाडौँ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गरे ।

उनले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गरे ।

उनले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहने चर्चा गर्दै कोरोना भाइरसको विषयमा विज्ञको सल्लाह लिनुहोला, हल्लाको पछि लागेर रुघाखोकी त हो नि भनेर हल्का रूपमा नलिनुहोला भने ।

सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्