
जनकपुरधाम– महाेत्तरीमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ।
शनिबार मृत्यु भएका दुई पुरुषमा कोरोना परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको कोभिड १९ विषेश अस्पताल जनकपुरका प्रमुख डा. जामुन प्रसाद सिंहले जानकारी दिए।
महोत्तरीको भंगहा नगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुष र पीपरा गाउँपालिका वडा नंं. ७ का ७० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ।
उपचारको क्रममा महोत्तरीको बर्दिवासमा भर्ना भएका पिपरा गाउँपालिकाका ७० वर्षीय पुरुषलाई थप उचपारको लागि शनिबार बिहान प्रादेशीक अस्पताल ल्याइएकोमा बिहानै उनको मृत्यु भएको थियो।
त्यस्तै भंगहा नगरपालिकाका पुरुषको पनि उपचारकै क्रममा आज बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। यसअघि शुक्रबार मात्र भंगहा नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो।
आज मृत्यु भएका दुवै जनाको शव प्रादेशिक अस्पताल जनकपुरमा रहेको डा. सिंहले बताए। थप दुईजनाको मृत्यु भएसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।





