
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन बिहीबार जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ ।
सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शूून्य बनेको छ । गएराति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ ।
सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उल्लङ्घन गर्ने करिब तीन हजार सवारी साधनसहित चालकलाई कारबाही गरिएको छ । त्यस्तै एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा एक घण्टा राखेर कारबाही गरिएको छ ।
महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको बताए । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् ।
आफूखुसी सञ्चालनमा आएका सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी जोखिममा रहेको उनले बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।





