अदालतको कठघराबाट …



श्रीमान् !
मैले फोहोर टेकेकै होइन
मेरो खुट्टामा कसैले फ्यात्त फालिदियो
मैले किन फालिस भन्न नपाउँदै
हतकडी मेरो अगाडि आइपुग्यो
बस यत्ती हो श्रीमान् मेरो कमजोरी,
म मौन आवाजहरुको
प्रतिनिधि आवाज हुँ श्रीमान्
यहि हो मैले गरेको गल्ती ।

मेरो कलम, हतकडी, बन्दुक,
शक्ति र सत्तासङ्ग पराजित भो
लड्न सकेन श्रीमान्
यत्ती हो मेरो दोष ।

मैले बिसङगत समाजमा
सङ्गती खोजेँ
यत्ती हो मेरो अज्ञानता
श्रीमान् म अपराधी हुँ ।

तपाईँको आँखाले देख्ला नदेख्ला
मैले भनिदिएँ
म समाजसङ्ग होइन
प्रबृत्तिसङ्ग लडेको हुँ ।

अहिले म मेरो अस्तित्वको होइन
जिवनको अस्तित्व खोज्ने मोडमा आइपुगेँ
श्रीमान् मलाई झुन्ड्याईयोस
नत्र या म कुनैदिन होटेलको कोठामा
कसैलाई केही आरोप लागाउँदै
भिडिओ बनाएर झुन्डिनेछु
कुटि कुटि मारिनेछु
या कुनै बेवारिसे लास भएर
अज्ञात स्थलमा लडेको भेटिनेछु
या नत्र फेरि
बोल्नेछु आवाजबिहिनहरुको आवाज
श्रीमान् यिनै हुन मेरा अपराधहरु
मलाई झुन्ड्याईयोस ।।।

भाष्कर काजी

प्रतिक्रिया दिनुहोस्