विराटनगरको एउटै उद्योगमा कार्यरत ५१ जना मजदुरलाई कोरोना संक्रमण



विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको एउटै उद्योगमा कार्यरत ५१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बूढीगंगा १ मा रहेको आरती स्ट्रिप्स प्रालिमा कार्यरतमध्ये ठूलो संख्यामा मजदुर र कर्मचारीमा कोरोना देखिएको हो । एक साताको अवधिमा संक्रमित बनेकामध्ये अधिकांश मजदुर छन् । सुरुमा दुई मजदुरमा कोरोना देखिएपछि उनीहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा अरुमा पनि संक्रमण पुष्टि भएको वडाध्यक्ष युवराज पौडेलले बताए ।

उनकाअनुसार उद्योगमा कार्यरतमध्ये दुई सय जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कर्कट पाता र फलामे डण्डी उत्पादन हुँदै आएको उद्योगले ‘लकडाउन’ खुल्ने वित्तिकै लुकाइछिपाइ भारतीय मजदुर ल्याएर काममा लगाउँदा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको पौडेलको भनाइ छ ।

‘सुरुमा दुईजनामा संक्रमण देखिएको थियो । त्यसपछि पनि उद्योग निरन्तर चलिरहयो,’ उनले भने, ‘तत्काललै सिल गरेर मजदुरलाई क्वारेन्टाइनमा राख्नु पर्नेमा त्यसो गरिएन । त्यसको परिणाम स्वरुप अहिले ठूलो संख्यामा मजदुर र कर्मचारी संक्रमित हुने अवस्था बन्यो ।

स्थानीय बासिन्दाले पनि जबरजस्ती उद्योग चलाउँदा कोरोना व्यापक रुपमा फैलिएको गुनासो गरेका छन् । यसअघि ३० जनामा संक्रमण देखिएकोमा बिहीबार २१ जना नयाँ संक्रमित थपिएका हुन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्