संक्रमण समुदायस्तरमै फैलिन थाल्यो



इटहरी । इटहरीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिन थालेको छ । इटहरीमा आईतबार थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै समुदायस्तरमै कोरोना भाइरस फैलिन थालेको हो ।

आईतबार इटहरी ८ की १९ बर्षीया युवती र इटहरी २० का ५४ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा समुदायस्तरमै कोरोना फैलदैँ गएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए । ‘इटहरीमा अहिलेसम्म देखिएको ३० जनामध्ये आजै देखिएका दुईजना मानिस पनि समुदायस्तरका मानिस हुन् ।’ उनले भने । उनीहरु सरकारी कार्यालय, स्वास्थ्य कार्यालय वा अन्य कुनै सार्वजनिक ठाउँमा काम नगर्ने भएपनि उनीहरुमा कोरोना पुष्टि भएको चौधरीले बताए ।

उनका अनुसार समुदायस्तरमै कोरोना फैलिदैँ गएकाले सचेत रहन अपिल गरिएको छ । अहिले धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको कोभिड १९ को अस्पतालमा बेड अभाव भएकाले यसअघिका संक्रमितहरु पनि घरमै बस्दै आएका छन् ।

घरमै बसेका ६ जना संक्रमित मध्ये एकजना संक्रमितलाई भने स्वाशप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राती एम्बुलेन्समा अस्पताल लगिएको छ । इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीमा आईतबार देखिएका दुई संक्रमित सँगै इटहरीमा ७ जना अहिले होम आइसोलेशनमै रहेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्