खोप निर्माणमा आशावादी विश्व : खोप पूर्ण सुरक्षित हुनुपर्ने अनिवार्य शर्त 



corona virus

कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु रहेको र संक्रमणले हायलकायल भैरहेको  बिश्वको सर्वशक्तिमान देश अमेरिकामा केहिदिन अगाडि त्यहाँका प्रमुख स्वास्थ्य बिज्ञहरु डाक्टर एन्थोनी फाउची र डाक्टर रोबर्ट रेडफिल्ड लगायत अन्य बिज्ञहरूसँग क्यापिटोल हिलमा कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणको सन्दर्भमा लामो अन्तरक्रिया गरिएको थियो (करिब चार घण्टा जतिको) ।

सीएनएन टेलिभिजनले यसको प्रत्यक्ष प्रसारण गरेको थियो ।  सुरुमै कार्यक्रमका अध्यक्षले आफ्नो  हात माथि उठाउन लगाएर डाक्टर एन्थोनी फाउची र रोबर्ट रेडफिल्डलाई सत्य बोल्न कशम खुवाएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरस नियन्त्रण तथा भाइरस बिरूद्धको खोप निर्माणको सन्दर्भमा एनआईएआईडीका निर्देशक डाक्टर एन्थोनी फाऊची र सीडीसीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्डको भनाईको सार संक्षेप सुनौ है त :

डाक्टर एन्थोनी फाऊची भन्छन्, “अमेरिकामा कोरोना भाइरस बिरूद्धको  खोप निर्माण कार्यमा तिब्र प्रगति भैरहेको छ । खोपको सुरक्षाको ग्यारेन्टी भने अन्तिम परीक्षणको नतिजा नआएसम्म भन्न सक्ने अवस्था छैन । तर हामीहरू साँच्चिकै आशावादी भने छौं । अहिले अन्तिम परीक्षणको रूपमा तिस हजार मानिसहरूमा खोपको परीक्षण भईरहेको छ (मोर्डना र फाईजर कम्पनीहरूले)  । खोप प्राप्त हुने कुरा अब सपना भन्दा पनि यथार्थ नजिक रहेको कुरा जानकारी गराउँदछु  तर यो कुनै छिटो सम्पन्न गरिने दौड भन्दा पनि एउटा जटिल प्रविधी हो । आउने केहि महिनासम्म खोपको तेस्रो (अन्तिम) चरणको परीक्षण जारी रहने छ तर यो शतप्रतिशत सफल नै हुन्छ भन्ने कुनै ग्यारेन्टी गर्न भने सकिदैन ।

२०२१ को जनवरी सम्ममा खोप तयार हुनेछ भन्ने हाम्रो अपेक्षा छ । हामीहरू शिघ्र दौडमा पनि छौं र साँच्चिकै आशावादी पनि छौं । खोप विकासको चरणमा सुरक्षाको कुनै पनि बिषयमा हामीहरू सम्झौता भने गर्ने छैनौं ।”

त्यस्तै अन्य प्रश्नहरूको जवाफमा डाक्टर फाऊची भन्दै थिए, “चीनले अमेरिकामा बनाईरहेको खोपको सूचना ह्याकिङ्ग गर्न खोज्यो भन्ने समाचार मैले सुनेको छु तर मसँग यसको कुनै प्रमाण छैन । हामीहरू के गर्दैछौ दुनियाँको लागि पारदर्शी हुनेछ । त्यस्तै हाईड्रोक्सीक्लोरोक्विनको प्रयोगले मृत्युदरलाई घटाएको छ भन्ने कुरा आजसम्म अध्ययनले पुष्टि गर्न सकेको छैन ।”

अमेरिकामा भाइरस नियन्त्रणको सन्दर्भमा फाउची भन्छन्, “यो भाइरस अब कुनै जादुगरी तरिकाले हराउने छैन जसरी यसको ट्रान्समिशन भैरहेको छ । हामीले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, हात धुने तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता सामान्य यी पाँच कार्यहरू गर्ने हो भने यो भाइरसलाई नियन्त्रण गर्न सकिन्थ्यो ।  तर मास्क नलगाई भिडभाडमा जानु पनि संक्रमण बढ्नुको एउटा कारण बन्न पुग्यो अमेरिकामा ।”

एक जना प्रश्नकर्ता भने फाऊचीको यो भनाईलाई कटाक्ष गर्दै थिए, “भन्नुस् त फाऊची महोदय,  मास्क नलगाई भिडभाडमा गएकोले अमेरिकामा भाइरस फैलिरहेको हो वा सरकार बिरोधी प्रदर्शनमा मानिसहरू सहभागि भएर हो ? तपाई कतै सरकारको बचाउमा ढाटीरहनु भएको त छैन फाऊची महोदय ?”

अर्को प्रश्नकर्ता भन्दै थिए, यूरोप तथा एसियाकै कयौं देशहरू यो भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएका छन् । चीनमा पनि । तर अमेरिकामा किन चीनमा भन्दा छत्तिस गुणा बढी मृत्यु भएको छ ?

यसै सन्दर्भमा डाक्टर  फाऊची भन्छन्, “अमेरिकाले सुरुमै बन्दाबन्दी नगरेकोले यहाँ महामारीको अवस्था अझ खराब भयो । तर म यो भन्दिन कि अहिले अमेरिकामा संक्रमितहरूको संख्या बढिरहनु भाइरस परीक्षणको दायरा बढाएकोले मात्र हो । म अहिले तपाईंहरूलाई यो मात्र  भन्न चाहन्छु कि तपाई जे र जहाँ भएपनि कुनै पनि प्रकारको भीडभाडलाई खारेज गर्नुहोस् ।”

उक्त कार्यक्रममा सीडीसीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्ड पनि भन्दै थिए, “एउटा सामान्य मास्कले हामीलाई भाइरस संक्रमणबाट बचाउन सक्छ । यो कुरा हामीले ध्यान दिनु आवश्यक छ ।  कुनै पनि क्रियाकलापहरूलाई खुल्ला गर्दै जाने कुरामा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा भिडभाडमा नजाने कुराहरू महत्वपूर्ण हुन्छन् । यो भाइरसको फैलावटलाई हामीले अनुमान गर्न सकिरहेका छैनौं । यो आम जनसमुदायको व्यवहारमा भर पर्दछ ।

अमेरिकाले जनस्वास्थ्यमा गरेको कम लगानीको परिणाम अहिले हामी अमेरिकीहरू  भोग्दै छौ ।

त्यस्तै, अहिले हाम्रो देशमा  करिब छ करोड बालबालिकाहरू महिनौंदेखि  विद्यालय जान नपाएर उनीहरू बिभिन्न मानसिक समस्याहरुबाट गुज्रनु पर्ने अवस्थाहरु आईरहेका छन् । चालिस हजार बालबालिकाहरू  बिभिन्न दुर्व्यवहारहरूका  शिकारहरू भएका समाचारहरू छन् । त्यसैले, अहिले अधिकांश जनसमुदायको चासो नै बिद्यालय कहिले खुल्छ भन्नेमा केन्द्रित देखिन्छ । हामीहरू बिद्यालयहरू कसरी खोल्ने बारेमा छलफल गरिरहेका छौ ।”

तीन दिन पहिले रसीयाले भनेको थियो कि ऊसले कोरोना भाइरस बिरूद्धको खोप बिगतको अन्तरिक्ष अभियान स्पुतनिक जस्तै संसारलाई अचम्म लाग्दो हुने गरी अब केहि हप्ता भित्र नै उत्पादन गरेर आम रूपमा बितरणमा ल्याउनेछ । यसै प्रसंगमा रसियाका स्वास्थ्य मन्त्रीले भनेका छन्, “कोरोना भाइरस बिरूद्धको खोपको क्लिनिकल परीक्षण सकिएको छ । अब अक्टोबरदेखि आमरूपमा यो खोप मानिसहरूमा लगाउन सुरू गरिने छ ।” रसीयाले अब पहिलो चरणमा खोप बिक्री–वितरणको लागि भारत, ब्राजिल र साउदी अरबसँग सम्झौता गर्दै छरे छिट्टै नै ।

त्यस्तै, अमेरिकन कम्पनी “नोभाभ्याक्स” ले गरेको खोपको पछिल्लो मानव  परीक्षण पनि उत्साहजनक भएको त्यहाँका स्वास्थ्य विज्ञहरुले बताएका छन् । उक्त परीक्षण सुरक्षित रहेको र खोप प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सफल रहेको भनेर बताईएको छ ।

अमेरिकन कम्पनीहरू मोर्डना र फाईजरले पनि तीसहजार मानिसहरूमा अन्तिम चरणको क्लिनिकल परीक्षण गरिरहेका छन् । जुन माथि उल्लेख गरिसकिएको छ । हुनत भर्खरै डब्ल्यूएचओका प्रमुखले भनेका छन्,“कोरोना भाइरस बिरुद्धको खोप कहिल्यै नबन्न पनि सक्छ जस्तो कि अन्य कति भाइरस बिरुद्धका खोपहरू आजसम्म बन्न सकेका छैनन् । यद्धपी खोप निर्माणमा सफलताहरु प्राप्त हुँदै गएको भएपनि हामीले अझै लामो यात्रा तय गर्न बाँकी छ । खोप प्रयोगमा ल्याउनुपूर्व ठूलो तहमा परीक्षण गर्नु आवश्यक छ । खोपको उत्पादन ढिलो भएपनि सुरक्षाको मानकमा भने कुनै कमी हुनु हुँदैन ।”

कतिपय बिज्ञहरु यो पनि भन्न थालेका छन् कि अब हामीहरू कोरोना भाइरस सगसँगै अभ्यस्त हुँदै जानु पर्दछ किनकि यो भाइरस बिश्वबाट हराउन अब निकै बर्ष लाग्न सक्छ ।

आशा छ, संसार छिट्टै नै सामान्य बन्नतिर लाग्नेछ र हाम्रा जिजीविषाहरु चाँडै भरिदै जानेछन् । धन्यवाद !

चन्द्रदीप लामिछाने
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय

प्रतिक्रिया दिनुहोस्