नेपालमा कोरोना संक्रमणले एकै दिन छ जनाको मृत्यु



नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकै दिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई/दुई र सप्तरी र काठमाडौंमा एक/एक गरेर बुधबार ६ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको आधिकारी पुष्टि नगरेपनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण थप छ जनाको मृत्यु भएको पुष्टि गरेकाे छ । पर्सामा कोरोनाले दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उनिलाई गत साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमासमेत गएराति कोरोना पुष्टि भएको छ ।

यता मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक विराटनगर र एक रंगेलीका हुन् । कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी मोरङकै रंगेली नगरपालिका ८ का ४५ वर्षीय अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको थियो ।

कोरोना संक्रमणबाट बुधबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ । गत साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा ६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो ।

यता सप्तरीको रुपनी गाउँपालिका ५ धुरगाउँका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजिटिभ आएको डाक्टर रणजीतकुमार झाले जानकारी दिए ।

मलेसियाबाट एक महिना अघि आएर घरमा बसेका उनको मङ्गलबार राति मृत्यु भएपछि बुधबार दिउँसो स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । स्वासप्रश्वासमा समस्या आएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्