कोरोनाको आशंका गरिएका तीन जनाको मृत्यु, स्वाब संकलन गरिँदै



२१ साउन २०७७ काठमाडौं । कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।

जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ ।

श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

स्वाब संकलन गरिँदै

मृत्यु भएका रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ । स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

उनले ती पुरुषसहित मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्