कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर परिक्षण गरिने



सुर्खेत । कर्णाली प्रदेश सरकारले बाह्य प्रदेश वा विदेशबाट कर्णाली भित्रिन चाहाने नागरिकको अनिबार्य पीसीआर परिक्षण गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलनमा काठमाडौंको थानकोट प्रवेश गर्दा आवश्यक पर्ने पीसीआर परीक्षण जस्तै कर्णाली प्रवेश गर्नेले पनि त्यही प्रक्रिया पूरा गर्नुपर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

उनले कैलाली र पूर्वी तराईमा खतरनाक कोरोना भाइरस देखिएको बताउँदै ती क्षेत्रबाट कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर जाँच गरिएको कागज देखाउनुपर्ने व्यवस्था गर्न लागिएको बताए । ‘खतरनाक भाइरस आएको छ । देश नै सायद लकडाउनमा जान्छ होला,’ मुख्यमन्त्री शाहीले भने, ‘यदि नेपालगञ्ज आसपासमा भाइरस देखिएको खण्डमा हामी आफैं कर्णाली प्रदेशलाई लकडाउन गर्छौं । कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर रिपोर्ट हेर्छौं । सबैभन्दा ठूलो कुरा नागरिकको ज्यान जोगाउनु हो ।’

उनले कोरोनाबाट बच्न व्यक्तिगत सुरक्षामा ध्यान दिन कर्णालीवासीलाई आह्वान समेत गरे । मुख्यमन्त्री शाहीले कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति २ मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने बताए ।

‘कर्णालीमा आफैंले खरिद गर्न सक्नेले मास्क खरिद गर्ने र नसक्ने नागरिकका लागि प्रदेश सरकारले प्रतिव्यक्ति २ मास्क दिने तयारी गर्छौं । ती मास्क पुनः प्रयोग गर्न मिल्ने खालका हुनेछन् । यसका अलावा सानो स्यानिटाइजरको डिब्बा पनि वितरण गर्छौं । सूर्ती बोक्नुको साटो स्यानिटाइजर बोक्न नागरिकलाई आह्वान गर्दछु ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा केही दिनभित्रै दैनिक २ हजार ५०० भन्दा बढी नागरिकको पीसीआर जाँच गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्