
१९ साउन २०७७, काठमाडौं । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।
देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षण भएको छ। त्यस्तै हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ।





