गायक भएर नारायण गोपालको गीत नचिन्दा ट्रोलको शिकार भए दुर्गेश



१० साउन २०७७, काठमाडौँ

अन्तवार्तामा बोली चिप्लिएर पछिल्लो समयमा धेरै कलाकारहरु ट्रोलको शिकार बन्नु परेको छ । कसैले नजानेको कुरामा जर्बजस्ती बोलेर त कसैले हदभन्दा ज्यादा बोलेर विवादमा आइरहेका छन् ।

यस्तै दर्शकमाझ लोकप्रिय गायक दुर्गेश थापा पनि विवादमा तानिएका छन् । उनीपनि आफ्नो बोलीको कारण नै विवादमा तानिएका हुन् । हालै ऋषि धमलालाई दिएको एक अन्तवार्तामा उनलाई ऋषिले नारायण गोपालको गीत गाउन आग्रह गरेका थिए ।

तर उनले भक्तराज आचार्यको मुटु जलिरहेछ गीत गाइदिए । उनले अन्तवार्तामा आफूले नारायण गोपालको गीत धेरै सुन्ने गरेको बताएका थिए । तर उनले सुन्थे भनेर खै दर्शकले कसरी पो विश्वास गर्ने ।

त्यतिमात्र होइन उनलाई शिव परियारको गीत पनि गाउन लगाएका थिए ऋषिले, उनले गीत त गाए तर शब्द नै बिगारिदिए । उनलाई ऋषिले यम बरालको गीत गाउन लगाउँदा उनले रामकृष्ण ढकालको ओराली लागेको हरिणको चाल भो गीत गाइदिए ।

एकपटक मात्र गल्ती गरेको भए झुक्किएर भन्न पनि सकिन्थ्यो होला तर उनले एउटै अन्तवार्तामा बारबार गलत जवाफ दिए । अन्य क्षेत्रको बारेमा प्रश्न गरेर जवाफ नदिएको भए सायद उनलाई दर्शकले साथ दिन्थे होला । तर स्वयम यत्तिका समयदेखि सांगितीक क्षेत्रमा भएर पनि संगीतप्रति यति ज्ञान नहुदाँ उनीमाथि प्रश्न उठेको छ ।

धेरै दर्शकले दुर्गेशलाई गाली गरिरहेका छन् । कतिले त आफूलाई गायक भन्नेले नारायण गोपालको गीत नचिन्ने भनेर उनलाई ट्रोल समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्