उपत्यकामा विदेशबाट आएकालाई क्वारेन्टिनका लागि ४३ वटा होटलको सूची



२६ जेठ २०७७, काठमाडौ

सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल सङ्घ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको सूची सार्वजनिक गरेको हो ।

सरकारले गत शुक्रबारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन थालेको छ । स्वदेश आएकालाई प्रदेश र स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ भने त्यसबापत खाना र बस्नका लागि खर्च व्यक्तिले नै बेहोर्नु पर्दैन तर उक्त क्वारेन्टिनमा बस्न नचाहने तथा नेपाल आएर आफैँ खर्च गरेर क्वारेन्टिनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय यसअघि गरिसकेको छ ।

चारतारे होटलको एक बेड भएको कोठाका लागि आठ हजार र दुई बेड भएको कोठाका लागि प्रतिबेड पाँच हजार ५०० रुपियाँ तोकिएको छ । यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि छ हजार, दुई जना बस्न चाहनेका लागि प्रतिव्यक्ति तीन हजार ५०० रुपियाँ निर्धारण भएको होटल सङ्घले जनाएको छ । यसैगरी दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि पाँच हजार र दुई जनाका लागि प्रतिव्यक्ति दुई हजार ५०० रुपियाँ तय भएको छ । यसमा चार पटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ ।

त्यसैगरी एकतारेका हकमा भने एक्लै बस्न चाहनेका लागि चार हजार र दुई जना बस्दा प्रतिव्यक्ति दुई हजार ५०० रुपियाँ तोकिएको छ । साथै पर्यटकीयस्तरका होटलको हकमा एक्लैका लागि तीन हजार र दुई जनाका लागि प्रतिव्यक्ति दुई हजार रुपियाँ निर्धारण गरिएको भएको छ । सङ्घका अनुसार यो मूल्यमा करसमेत जोडिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्