कस्तो छ भुल्केको अवस्था ? स्थानियको अनुभव र पिडा 



०९ जेठ २०७७, काठमाडौं

घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन हुँदै गएको उनी बताउँछन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के गाउँका ५० वर्षीय राउतले यसरी कुँजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नु जस्तै भएको बताए । नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुुकुलो हुने विश्वास पलाएको स्थानीयवासीको भनाइ छ । उनले अब परीक्षण नतिजाको प्रतीक्षा रहेको जानकारी दिए ।

गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दै आएका १२ मुस्लिम धर्म प्रचारक ९जमाती० मा कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि स्थानीय प्रशासनले पूरै गाउँ सिल गर्यो । सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आ–आफ्नै घरआँगनमा मात्र सीमित राखेको छ । बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको छ ।

स्थानीयवासी गत चैत ११ गतेबाट गरिएको बन्दाबन्दीबाट घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । बन्दाबन्दीको प्रभावकारी परिपालना सुरुका दिनमा नदेखिएको स्थानीयवासीको भनाइ छ । एकाएक आफ्नै टोलमा ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो । स्थानीयवासी चक्रपाणि पोखरेल अब बाँचिँदैन कि जस्तो हुन थालेको थियो भनेर बताउँछन् । विभिन्न अडकलबाजी गर्नेले चिन्ता अझ बढेको भन्दै पोखरेल सामाजिक सञ्जालमा त भुल्के बम नै भयो तर अब बिस्तारै कुरा बुझ्न थालियो । आफैसचेत हुनुपर्ने रहेछ भन्ने चेत आएको छ । अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको बताउँछन् ।

स्थानीय अनिश मियाँले कतिपयले जात र धर्म जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आफूहरू झनै चिन्तित बनेकोमा अहिले त्यस्तो स्थिति छैन । सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकाले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्