वेदको सामिप्यता र कोभिड–१९ ले आक्रान्त जगत



०५ जेठ २०७७, काठमाडौं/डा. उत्तम खनाल

वेद, जगत हितका लागि वनाईएको  सौम्य नीति शास्त्र हो । यसले पूर्ण जगत हितायका लागि मानिस र अन्य प्राणीहरुको पनि कल्याण गर्दछ । त्यही वेदमा यसो पनि भनिएको छ कि मानिसले कहिले काही हिंसा पनि गर्नु पर्छ भनेर । तर हिंसा केका लागि गर्ने र केलाई कसले गर्ने भनेर स्पष्ट किटान गरिएको छैन । केही विद्वानहरुले भनेका छन्ः हिंसाको अर्थलाई सहि ढंगले व्याख्या गर्न वा गराउन सकिएन भने त्यस्को परिणाम भयावह हुन्छ । फलस्वरुप अज्ञानता र अल्प ज्ञानका कारण मानिसले आफूवाहेक अन्य सबै प्राणिलाई वध गर्नु पर्छ भन्ने धारणाको विकास गराउन पुगे । परिणाम मानिसले आफू वाहेक सारा निर्दोष प्राणीको हत्या गरेर पून्य कर्म गरेको दावी गर्न छाडेन र समाजलाई हिंसा गर्न उत्प्रेरित गरायो । आफ्नो अभिष्ट प्राप्तिका लागि उसजे जे जति चौपाया वा पशुपक्षीहरुको निरमम् हत्या गराउनुको कारण थियो बुझाइमा भएको कमजोरीपन । जो आफूमा आएको कमजोरी र हुंकार थियो अनि जसले ति निर्दोष प्राणिको उदण्ड तवरले जतिलाई भेटे समात्दै काटे अनि आफू अनुकुलका मासुका विभिन्न परिकार बनाएर पनि खाए । यसलाई विजयको उन्माद ठानियो र मत्ताहात्तिको चालवाजीमा हुंकार पनि मच्चाईयो तर निर्दोष आत्माले उन्मुक्ति पाउन सकेन । यि कर्म केवल धर्मका नाममा देवीदेवता भाकल गर्दै पशुपंक्षीहरुको आलो रगतमा होली खेलिनु नै ठानियो ।

यहाँ एउटा प्रश्न उठ्छ, के वेदमा लेखेको हिंसाको अर्थ पशु हत्या हो ? के पवित्र ग्रन्थ वेदले पशुहिंसाका लागि मानिसलाई पेरित गरिरहेकै हो त ? के होत वेदले भनेको वास्तविक अर्थ ? के भनिएको छ त वेदवारे मनुश्रुति यसमा ? के अन्य प्राणी भन्दा शक्तिशालि हुनाले नै हो त मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको ? यि यावत प्रश्नको उत्तरमा विलकुल त्यस्तो कर्मलाई जोड दिईएको छैन । बरु मानिसले सबै प्राणीको हित गर्नुपर्छ भनिएको थियो वेदमा  । अनि वेदले वताए अनुसार हिंसाको अर्थ हो, “मानिसमा कुनै वेला यस्तो कुवुद्धिको घमण्डले वास गर्छ यदि यसलाई आफैले आफैद्धारा मारिएन भने त्यसको जड मौलाउदै सारा जगतलाई धमिल्याई दिन सक्छ” । फलस्वरुप आफू भित्र रहेको कुविचार र घमण्डको हिंसा गरिएन भने न जगतको हित हुन्छ नत आत्मा शान्ति नै मिल्छ । यसकारण कुविचारको हिंसा गर, घमण्ड र तामसिपनको अन्त्य गर अनिमात्र मानव जीवनको अर्थ शार्थक रहन्छ भन्न खोजिएको थियो । तर यसको ठिक उल्टा अपव्याख्याका कारण मानिसले आफू भित्र भरिएको लालचीपन, घमण्ड, क्लेश, ईस्र्या आदिलाई हिंसाद्धारा अन्य गराउन सकेन बरु उसले त उल्टै प्राणीहरुको निरमम तरिकाले हत्या गर्दै जगतमा  अशान्ति फैलायो । भगडा एवं कोलाहल मच्चियो र बलियाको अगाडी निर्दाको सत्य विचार पनि झुटा सावित हुँदै गयो । जसरी जगत हितका लागि आफ्ना चेलाहरुलाई बुद्धले कहिल्यै झुटा नबोल्नु भनि अर्ति उपदेश दिए । तर त्यसको अर्थ यो पनि थिएन कि साँचो बोल्दा कसैको ज्यान जाओस् । यसै कारण बुद्धले स्वयम पनि झुटा वोलेका थिए तर त्यसमा कसैको ज्यान बचाउनका लागि चालिएको सत्कर्म थियो ।

अतः भावना र विचारहरु सहि रहँदा रहदै पनि कहिले काहीे बुझाईमा आउने कमी र अपव्याख्याका कारणले एउटा विषयको अर्थ अनर्थ हुन सक्छ । स्पष्ट रुपमा बुझाउन नसक्नु पनि कमजोरी नै हो । अहिलेको संविधानले दलहरुले भने झैं वेदकै नीति सरह अधिकार स्थापित गराएको भए पनि त्यसको अनुभूति नागरिकले गरेका छैनन् । प्रकाण्ड राजनैतिक विद्वानहरुको सत्तालोलुपता एवं आफू अनुकुलका अपव्याख्या वा अल्पव्याख्याले गर्दा साम्प्रदायिक एकता माथि आँच आउने गरेका छन् । यसैले होला कुनै एउटा समस्या मत्थर नहुँदै अर्को परिघटनाको रुमाल थापिएको देखिन्छ । कहिले काही न्यायालय भित्रैबाट पनि अन्याय भएको कुरा बाहिर आउने गरेको छ । आजकाल अमेरीकामा समेत वेद ग्रन्थको अध्ययन अनुशन्धान र अनुसरण गर्ने काम हुँदा नेपालमा भने यसलाई अनादर किन गरिदैछ भन्ने आवाज उठेको छ । रुस, जहाँ हिन्दुधर्मको व्यापक अध्ययन हुन्छ । भागवत गीतालाई रुसीहरुले नेपालमा आएर नेपालीहरुलाई सिकाउन थालेका छन् । आज तिनै विश्वका हिमायति मानिने राष्ट्रहरुमा मानिसको ध्यान गुम्वा र मन्दिर तर्फ केन्द्रित भएको अवस्थामा मातृभस्मिमा तिनीहरुको अस्थित्व संकटमा रहेको देखिन्छ । नेपालीहरुले केवल खान र खुवाउनका लागि देखोसिको मार्फत आफ्नो धर्म, संस्कृत, परम्परा र रितिरिवाजलाई बेचिरहेका छन् । तिनीहरु आफै हवाला दिन्छन् कि भ्रष्टाचार गरिदैन भनेर तर  जसले भ्रष्टाचार गर्दिन भनेर भन्छन तिनीहरु नै कमाउन खेतमा व्यस्त छन् । राजनीतिक आकास पुरै धमिलिएको छ जनताको नजरमा । तर हामीले जनताका नाममा धेरै गरिरहेका छौ भनेर तिनै व्यक्तिहरु उफ्रन छाडेका पनि छैनन् । आफ्नै स्वार्थ र आसेपासेमा भासिदै दलिय भागबण्डाहरु गरेरै भए पनि सरकार संचालित गराउने नियत गएको छैन । नियम र कानूनको जप तिनैले गर्छन तर शक्तिका आसेपासेलाई त्यो नियम र कानूनले त्यति फरक पार्न सक्दैन ।

नेतृत्व भागबण्डा गएर सिमति पारिन्छ अनि भनिन्छ यो सबैको मेरुदण्डको अन्तिम मेण्डेड हो । चाहे त्यो सरकार बनाउन होस् या पार्टी एकिकरण र लाभको पद बाँडफाडको सवालमा किन नहोस् । त्यहाँ नत विचारले काम गर्छ न सिद्धान्तले नै । विज्ञताको सवाल भनेको एका देशको कहानी जस्तै बनेको हुन्छ । विचार र सिद्धान्तको लेखाजोखा गरिदैन बरु पदिय अधिकारका सवालमा भागबण्डा गराई त्यसमा पनि आफू अनुकुलका निकटतम् व्यक्तिको आवस्यकता बोध गरिन्छ । अहिलेको संघियताको अभ्यासले दिएका प्रतिफलहरु जनताका नजरमा यस्तै बनेका छन् । आम मानिसको सवाल कालापानी, लिम्पियाधुरा, लिपुलेक जस्ता भूमिमा सरकारको ध्यान पुग्न सक्दैन । सिमानाकामा विवादित बनेको भूमिको सवालमा विदेशी हस्तक्षेप बढीरहेको अवस्था प्रति सरकारले आफ्नो धारण खुलेर सार्वजनिक गर्ने हिम्मत राख्दैन । बरु जनतालाई केहि गरिए जस्तो देखाउनका लागि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा आधिकारीक हस्ताक्षर समेत गर्न नेपाल सरकार आनाकानी गर्छ । भारत र चीन विच लिपुलेक हुँदै व्यापारीक नाका छिमेकी देश भारतले उद्घाटन गर्दा त्यसको आधिकारीक जानकारी राख्ने हिम्मत सरकारको हुँदैन । तथापि त्यसको विरोध नेपाली जनताले गर्दा ति व्यक्ति माथि प्रहरी प्रशासनको पिटाई तिनै नेपाली जनताले व्यहोर्नु पर्ने यो देहमा मातृभूमिको लाज कसले बाचईदिने भन्ने प्रश्न खडा भएको छ ।

उता देशको सिमाना मिचिदै जान्छ यता आवाज उठायो भनेर जनताका छोरा छोरीले लाठी खान्छ । यस विषयमा कुनै दलले विरोधको आवाज उठाउने हिम्मत राखेको देखिदैन बरु आफ्नो सत्ता जोगाउन आफ्नै दलभित्रको लडाईंमा साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरेको प्रस्टै देखिन्छ । कारण यो पनि हुनसक्छ कि सरकार बनाउँदा आफ्ना धेरै व्यक्तिले नेता हुने अवसर पाएका हुन सक्छन् । त्यसले हरेकको चाहनालाई सम्बोधन किन गर्नु आवस्यक रहन्छ र !  नेता र नेतृत्व लिगलिगको दौड झै बनेको परिप्रेक्षमा विदेसी चलखेल चरम उत्कर्स रुपमा बढ्नुलाई कुनै नौलो मानिदैन । चाहे त्यो सिमा नाकामा हस्तक्षेप होस् या सरकार बाउने र गिराउने अवस्थामा किन नहोस् । दौडमा रहेको धावकलाई नियन्त्रणमा लिनु र उसका लागि केही गरिदिए झै गरिदिनुलाई अवका दिनमा कुनै नौलो परिघटना मानिदैनन । परिणाम जनताका लागि दिईने विकास शब्दभण्डार जस्तै बनेको छ । जसको अर्थ र परिभाषा उनिहरुले बुझ्न सकेका हुँदैनन् त्यो नै विकासका लागि चालिएको गतिलो औजार बन्दछ । सालबसाली वजेटमा साधारण खर्च बढ्दै जान्छ र विकास खर्च तोकिए अनुसार पनि हुन सक्दैनन । अर्थात विदेशी सहयोग र अनुदान मागेर शासन व्यवस्था टिकाउनु पर्ने हालतमा देशलाई दौडाईन्छ । उत्पादन खासै गरिदैन । आयातित अर्थ व्यवस्थामा राजनीति चलेको बढी रहेको हुन्छ । यस्तो परिपाटीले दिगोविकासको सपना सजाउनुको कुनै सनदार महल भन्दा अतुलनिय नहुन सक्छ । यसतर्फ खासै चासो र चिन्ता बढेको पाईदैन बरु सत्ता हत्याएर लाभका पदमा कसरी जाने भन्ने चिन्ताले जगडिएको सिंगो राजनीतिले आफैबाट आफ्नैलाई सिध्याउने चलखेल गरेको सुन्न र देख्न पाईन्छ । यसलाई राजनीति वेईमान भन्ने कि ईमान्दारीता ? प्रश्न आफैमा गंभिर भएको छ ।

नेपाली समाज आफैमा पनि अपार थियो । विविधता भित्रको एकतामा रमाएका जनता आज यो र त्यो को वहानामा माखेजालो भित्र आफै अल्झिदै गरेको देख्दा कतै वाटो विराएर हिड्न थालेका त हैन भन्ने लागेको छ । कोभिड–१९ कोरोनाले विश्व मानव जगतलाई आक्रान्त बनाएको अवस्थामा विदेशी दब्दबाले नेपाली आमाको अपमान गरायो । आफ्नै जीवन संकटको घडीमा रहँदा आमाको आँसु पुच्छने हातहरुमा मलम रहेन बरु निला राता डामहरु देखिए । सरकारले कुनै पनि जनता भोकभोकै नमरोस् भन्दै गर्दा सयौ जनता सडकमा रासनपानी विना जीवन बाच्ने आशा परिलिरहे । तर यस्तो भयावह अवस्थामा पनि कतिले त रहातको नाममा पर्व मनाएझै गरे । कोही यस्ता पनि देखिए कि जसले आफूले सकेको सहयोग गर्दै ति दुखेका  मनहरुमा मलम पट्टी लगाउन समेत पछाडी परेन । भिन्नता यहि देखियो जसलाई सरकारले दिनु भन्यो उसले ति देखेका मनहरुको नागरिकता हेर्‍यो, परिचय हेर्‍यो र दल सहित आफ्नै क्षेत्रको हो या होईन हेर्‍यो । तर जीवन बाचाउने नाउँमा ति सहयोगी हातहरुले दुखेका मनहरुको कुनै परिचय हेरेन, हेर्‍यो त केवल दैनिक चुलो बलेको छ या छैन भनेर ।  हो यो दुखत घडीले जसले ति पडिामा परेका मनहरुको कुनै परिचय खोजेन र जीवन बचाउनका लागि सहयोग गर्दै गयो । त्यसले वेलदाई पालना गर्‍यो । वेदको मर्म बुझ्यो, धर्म बुझ्यो र आफ्नो कर्म पनि बुझ्यो । जसमा कुनै राजनीति गरेन, धर्म जात र रंगको विभेद गरेन । त्यो नै सच्चा मानव हो जसले मानव हितका लागि विना स्वार्थ कार्य सम्पादन गरिरह्यो । ति तमाम् मिडियाकर्मीलाई पनि दुखेका मनहरुले कदापी झुल्दैनन् जसले मलमपट्टी लगाउने हातहरुको संयोजन गराउन सक्यो ।

अन्तमाः महर्शी भृगुले जसरी प्राणी हितका लागि वेद तथा विज्ञानको सामिप्यता परीक्षण गर्न योग, दर्शन र वनस्पति अध्ययनको गहिराई पहिचान गराएका थिए । त्यसै गरी व्यास ऋषिले वेदलाई सबैले बुझ्ने सरल वनाउन चार भागमा विभाजन गरे । तर राजनीति कर्मीले आफ्ना एजेण्डाहरु कार्यान्वयन गराउन वेदकै अनुसरण गर्दै साम, दाम, दण्ड र भेद नीतिको अनुसरण त गराए तर त्यसलाई सहि रुपमा प्रयोग गर्न कदापी जानेनन् । समयमा उचित कार्यावोध सहितको दिशा पहिचान हुन नसक्दा देश विकास त भएन नै आम जनताले सहज अवतरण अनूभुत गर्न सकेनन् । बरु नेतृत्व वर्गले यसैको घेरा भित्र कसैलाई जातियताका रुपमा समावेश गराए त कोहीलाई धर्मका नाममा । प्रकारान्त जात जाति, धर्म, भाषा भाषी, रहनसहन, संस्कार र भेषभूषा विकासका लागि वेदकै स्वरुपमा परिणाम मुखी बनाउन सक्ने सांकेत देखाउन कमजोरी भयो । वदलिदो व्यवस्थाको वास्तविकता जनता माझ उजागर गराउने नैतिक दायित्व लिएका राजनैतिक दलहरु आफैमा विभाजित हुँदा समाजमा दुराचार, भ्रष्टाचार, कलह, वैमनस्यता, झैझगडा र ईर्ष्या बढ्दै गयो । यसको मुल जड भनेको अमृतपानको चाह राख्दा विषवमनको वातावरण विकास हुँदै जाँदा प्रतिसोद्धात्मक ज्वालाहरु निभाउन नेपालका सबै जलकुण्डहरु एकै ठाउँमा समाहित हुनुपर्ने विषम अवस्था नबनोस् ।

(अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. उत्तम खनाल अर्थराजनीतिक क्षेत्रका विष्लेशक एवं रिसर्चर समेत हुन् ।)

प्रतिक्रिया दिनुहोस्