बन्दाबन्दीमा विकास निर्माणलाई प्राथमिकता दिँदै टोखा



०५ जेठ २०७७, काठमाडौं

टोखा नगरपालिकाले बन्दाबन्दीको समयमा नगरपालिकाभित्रको विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकाले सामाजिक दूरी कायम राख्दै विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बन्दाबन्दीको समयमा साना विकास निर्माणका कामलाई अगाडि बढाएको जानकारी दिनुभयो । “रु २० लाखभन्दा साना विकास निर्माणका कार्यक्रम बन्दाबन्दीको समयमा पनि प्राथमिकताका साथ गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

टोखाले बानियाटार धनेश्वर मन्दिर क्षेत्र, धापासी क्षेत्र र सपनतीर्थ क्षेत्रमा बाटो ढलान गरिरहेको छ । यसैगरी, विष्णुमति खोलामा पर्खाल निर्माण, मनोहरतीर्थ पुल निर्माण, बौडेश्वर पार्क निर्माण, कल्की मन्दिर पार्क निर्माणको कामसमेत गरिरहेको छ ।

नगरप्रमुख अधिकारीले ठूला विकास निर्माणका आयोजनामा धेरै जनशक्ति लाग्ने भएकाले बन्दाबन्दीको समयमा ठूला विकास निर्माणका आयोजनालाई स्थगित गरिएको बताउनुभयो । यस्तै, टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ ।

कोरोना परीक्षणको दायरा बढाउने
टोखामा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरी महिला कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि टोखाले कोरोना परीक्षणको दायरासमेत बढाउन लागेको छ ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले टोखा नगरपालिका–९ बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको छ । उक्त स्वाव सङ्कलनको रिपोर्ट आज बेलुकासम्म आइपुग्नेछ ।

नगरप्रमुख अधिकारीले टोखाभित्र एक हजार २०० व्यक्तिको पिसिआर र आरडिटी परीक्षण गरिने बताउनुभयो । टोखाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र विदेशबाट भर्खरै टोखामा आएका र विभिन्न जिल्लाबाट केही दिन पहिले टोखामा आएका व्यक्तिको कोरोना परीक्षण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्