१३ वर्षीया बालिका गर्भवती, कमरेड पक्राउ



०३ जेष्ठ २०७७, काठमाडौं

समाजको नजरमा प्रतिष्ठित शिक्षक, राजनीतिक दलका नेता–कार्यकर्ता तथा व्यवसायीसमेतले १३ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरी गर्भवतीसमेत बनाएको पोल खुलेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले चारमध्ये तीन जनालाई पक्राउ गरेको छ ।

अति गरिब परिवारकी १३ वर्षकी बालिकालाई ललाई फकाई, डर धम्की देखाई बलात्कार गरेको र पाँच महिनाको गर्भ रहेको खुलेपछि आत्माराका नेकपा– ६ नम्बर वडा कमिटी सदस्य तथा व्यापारी गौरी अत्री, धनकुटाको सिरानबजारको नेवारी खाजा पसलका सञ्चालक देवेन्द्र श्रेष्ठ, कचिडेका भक्तबहादुर मगरलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न बालिकालाई पनि पढाउने धनकुटा–६ स्थित माथिल्लो गोकुण्डेश्वर माविका नेपाली शिक्षक, नेकपानिकट शिक्षक संगठनका पूर्वकेन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख मदन अधिकारी भने फरार छन् ।

छोरीलाई बलात्कार गरी गर्भवतीसमेत बनाएको थाहा पाएपछि गत बिहीबार बालिकाका बुबाले प्रहरीमा जबर्जस्ती करणीको उजुरी दर्ता गराएका थिए । उजुरी लिएलगत्तै त्यसैदिन प्रहरीले तीन जनालाई पक्राउ गरे पनि शिक्षक नेता भने फरार छन् ।

बलात्कार गर्ने चारै जना ४०देखि ५० वर्षमाथिका रहेको बताइएको छ । शिक्षक एवं नेता मदन अधिकारीले परीक्षाको फाराम भर्ने बहानामा बाबुको नागरिकता लिएर आउनू भनी उनकै घरमा बोलाएर बलात्कार गरेको बालिकाले बताएकी छन् ।

त्यस्तै नेकपाका ६ नं. वडा कमिटी सदस्य तथा व्यापारी गौरी अत्रीले गोठालो गएका बेला डर धम्की देखाई बलात्कार गरेको बताइएको छ ।

नेवारी खाजा पसलका देवेन्द्र श्रेष्ठले धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रको साइडमा गोठालो गएको दाउ छोपेर पटकपटक बलात्कार गरेको बालिकाले बताइन् ।

त्यसैगरी कचिडेका भक्तबहादुर मगरले पनि गोठालो गएकै बेला धनकुटाको सल्लेरी वन क्षेत्रमा आफूलाई बलात्कार गरेको बालिकाको भनाइ छ ।

चारै जनाले आफूलाई पटकपटक बलात्कार गरेको र कसैलाई भने आफू र बुबालाई मारिदिने धम्की दिँदै आएको पनि बालिकाले बताएकी छन् ।

बालिकाको गत वर्ष मात्रै १२ वर्षको उमेरमा महिनावारी भएको थियो । प्रहरीका अनुसार बालिकाको पेटमा हाल पाँच महिनाको गर्भ छ । बाबुले सौता हालेपछि उनकी आमा अन्यत्र लागिन् ।

कम बोल्ने, भलाद्मी र लज्जालु स्वभावकी बालिकाले बुबा हजुरबुबाको उमेरका आफ्नै शिक्षक र अन्य तीन जनाबाट पटकपटक बलात्कारमा परे पनि कसैलाई भन्न सकेकी थिइनन् ।

आमासँग बोलचाल नै नभएको र बाबुसँग डर लागेकाले कसैलाई भन्न नसकेको बालिकाले बताएकी छन् । छिमेकीका अनुसार बालिकाका बाबुले सौता ल्याएपछि उनी र उनकी बहिनीलाई सानैमा छाडेर आमा पोइल गइन् ।

अर्कीसँग पनि बाबुको सम्बन्ध बिग्रेर अलग्गिएपछि ती बालिका र उनकी बहिनी बुबासँग बस्दै आएका छन् । सौतेनी आमा तीन छोरीसहित अलग्गै बस्छिन् ।

बालिकाले घटनामा संलग्न व्यक्तिको नाम सार्वजनिक गरेपछि खासगरी बालिकाकै शिक्षकमार्फत बालिकाका बुबालाई प्रतिव्यक्ति तीन/तीन लाख रुपैयाँ दिने प्रलोभनसहित दवाव दिएको बताइए पनि बालिकाका बुबाले जबर्जस्ती करणीअन्तउर्गत आफूले मुद्दा दर्ता गरिसकेका छन् ।

गर्भ के गर्ने भन्नेबारे जिल्ला अस्पताल धनकुटाका डाक्टरहरूसँग सल्लाह भइरहेको पारिवारिक स्रोतले जनाएको छ । जनआस्थाबाट साभार

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्