भर्ना भएका बिरामीलाई पाँच हजार



३१ बैशाख २०७७, काठमाडौं

नागार्जुन नगरपालिकाले बन्दाबन्दी (लकडाउन)को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९)का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराएको बताउनुभयो । नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी आमा र बच्चालाई समेत जनही रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार अस्पतालमा भर्ना भएका र वडा कार्यालयको सिफारिस लिएर आउने बिरामीलाई आर्थिक सहयोग गरिरहेको छ । अहिलेसम्म १० बिरामीले आर्थिक सहयोग लिएका छन् ।

यसैगरी नगरपालिकाबाट सञ्चालित खानेपानीमा दुई महिनाको महसुल छुट गरेको छ । लकडाउनका समयमा कहीँकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महसुल छुट गरिएको प्रमुख बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चैत र वैशाखको खानेपानी महसुल छुट गरिएको हो । नगरपालिका मातहतका ४० वटा उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ । ती सबै उपभोक्ताअन्तर्गत नगरवासी महसुल बुझाउनु पर्दैन ।

ती उपभोक्तालाई रु ६०० देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउनेछन् । यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उपप्रमुख सुशीला अधिकारीले लकडाउनका समयमा सडक, विद्युत्को पोल गाड्ने र खानेपानीका काम सञ्चालन रहेको बताउनुभयो । उहाँले कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको बताउनुभयो ।

अहिले प्रत्येक वार्डमा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले सीतापाइला रामकोटा भीमढुङ्गा धादिङ सडकखण्डको ११ किलोमिटर बाटोसमेत बनाइरहेको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले मङ्गलबारबाट आफू विकास निर्माणका कामको अनुगमनमा पनि निस्केको बताउनुभयो ।

“आर्थिक वर्ष सकिन थालेकाले विकास निर्माणका काम के कति भइरहेका छन् त्यसको अनुगमन गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “अति आवश्यक काम हामीले सामाजिक दूरी कायम गरेर सम्पन्न गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्