२० वर्षपछि पुनः संस्कृत भाषाबाट पढाइ



२४ वैशाख २०७७, काठमाडौं

नेपालमा २० वर्षपछि पुनः संस्कृत भाषा पठनपाठन शुरु हुने भएको छ ।

शसस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीको निशानामा परी बन्द भएको संस्कृत पठनपाठन विद्यालयहरूमा फेरि शुरु हुने भएको हो ।

मातृभाषा नपढाउने स्थानीय तहले त्यहाँका विद्यालयहरूमा कक्षा आठसम्मको पाठ्यक्रममा अब संस्कृत भाषा अध्ययन समावेश गर्नुपर्नेछ ।
कक्षा आठसम्मका लागि पुस्तक तयार पारिँदैछ भने कक्षा एकमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्ययन गराइने भएको छ ।

भाषा आयोगले संस्कृत नागरिकको जीवनपद्धतीसँग जोडिएको विषय भएकाले पाठ्यपुस्तक र पाठ्यक्रम तयार पार्न सरकारलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि अध्यापन गराउन सकिने गरी संस्कृत भाषाको पाठ्यक्रम तयार पारेको हो ।

कक्षा एकका विद्यार्थीलाई पठाउन पुस्तकसमेत तयार भइसकेको केन्द्रले जानकारी दियो । केन्द्रले तयार गरेको संस्कृत पाठ्यक्रमलाई शिक्षामन्त्री गिरिराजमणी पोख्रेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्‌ले गत २ माघमा नै स्वीकृत गरिसकेको छ ।

विसं २०५८ अघि विद्यालयहरूमा कक्षा आठसम्म ५० पूर्णाङ्क राखी सरल संस्कृत भाषा पठनपाठन हुने गरेकोमा सरकारले यसपटक १०० पूर्णाङ्ककै पाठ्यक्रम तयार पारेको छ ।

द्वन्द्वका कारण पठनपाठन बन्द हुनुअघि कक्षा चारदेखि मात्रै सरल संस्कृत भाषाको पाठ्यक्रम समावेश गरिएको थियो । तर अब मातृभाषा नपढाउने स्थानीय तहले कक्षा एकदेखि नै संस्कृत पढाउनुपर्नेछ ।

संस्कृत अध्ययन सजिलो बनाउनका लागि सरकारले नेपाली र अंग्रेजीमा पनि पुस्तक तयार पारेको छ । विश्व नै आकर्षित संस्कृत भाषाप्रति अहिले विश्वभरका भाषाप्रेमी र शिक्षालयहरू आकर्षित भइरहेका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०३४ भित्र संस्कृत भाषा प्रयोग गरिने कम्प्युटर बजारमा ल्याउने घोषणा गरिसकेको छ । संस्कृत भाषामा उच्चारण गरिएको ध्वनी अन्तरिक्षमा पनि परिवर्तन नहुने प्रमाणित गर्दै नासाले थप खोज र अनुसन्धानका लागि संस्कृत भाषा उपयोगमा ल्याउन लागेको हो ।

नासाले अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको जनाएको छ । पछिल्लो शताब्दीमा जर्मनी, बेलायत र अमेरिकाले प्राथमिकतामा राखी संस्कृत भाषा अध्ययन अध्यापन अघि बढाइरहेका छन्‌ ।

अन्य भाषा राम्रो बनाउन चाहने भाषाअध्येताहरू पनि संस्कृत भाषा अध्ययनमा आकर्षित हुँदै आएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्