नयाँ शैक्षिक सत्रका लागि भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन



२३ वैशाख २०७७, काठमाडौं

शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना नलिन सबै शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ ।

सरकारले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना नलिन र कक्षागत पठनपाठन नगर्न, नगराउन आग्रह गरेको हो ।

कतिपय विद्यालयले आफूखुसी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैंक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले स्थगित भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ र १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता दीपक शर्माले बताए ।

मन्त्रालयले निजी अर्थात् संस्थागत विद्यालयले आवास शुल्कबाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराएको छ ।

कोभिड १९ (कोरोना भाइरस) रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवी रुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्