
२० वैशाख २०७७, काठमाडौं
रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् । जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका १२ वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बिरामी परेका छन् ।
बिरामी हुनेमा जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ४ का १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन छन् ।
शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुनेजस्ता समस्या देखिएको थियो । राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनीहरुको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए ।
बिरामीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले बताए ।
|फाइल तस्वीर|





