सीमामा एक महिनादेखि अलपत्र परेका नेपालीले पाए स्वदेश प्रवेशको अनुमति



१८ वैशाख २०७७, काठमाडौं

नेपाल–भारत सीमामा एक महिनादेखि अलपत्र परेका नेपाली नागरिकले स्वदेश प्रवेशको अनुमति पाएका छन् ।

दार्चुला पारि धार्चुलामा क्वारेन्टाइनमा बसेका हजारभन्दा बढी नेपालीलाई त्यहाँका दुई नाकाबाट प्रवेश अनुमति दिइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

आज (बिहीबार) बिहानैदेखि दार्चुलाका दुई र बैतडीको एक नाका खोलेर ती नेपालीलाई धमाधम स्वदेश प्रवेश गराउन थालिएको हो । कोरोना महामारीका कारण सीमानाका बन्द गरिँदा २ हजारभन्दा बढी नेपाली एक महिनादेखि भारतीय भूमिका क्वारेन्टाइनमा बसिरहेका थिए ।

उनीहरूलाई स्वास्थ्य जाँचपछि सम्बन्धित स्थानीय तह पठाइने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए । सम्बन्धित स्थानीय तहले नै आफ्ना नागरिक लान गाडीको व्यवस्था गरेको उनले बताए

आफ्नो गाउँ फर्काएपछि पनि उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

|तस्वीरमा नेपाल भित्रिँदै नेपाली। श्रोतः|

प्रतिक्रिया दिनुहोस्