विपतमा गरिबको सहारा बन्दै म्युजिक थेरापिष्ट केदार गान्धारी [फोटो फिचर]



१७ वैशाख २०७७, काठमाडौं

कोभिड—१९ (कोरोना भाइरस)को जोखिम कम गर्न नेपाल सरकारले गत वर्षको ११ चैत्रदेखि देशव्यापी बन्दाबन्दी गर्यो । सबैको मनमा लाग्यो, यो अन्तर्राष्ट्रिय अभ्यास हो । लकडाउनको अवधि सकिएको दिन खुल्छ होला । तर, त्यो भएन नेपालमा कोभिड–१९ को संक्रमण दर बढ्दै गयो र लकडाउनको अवधि र कडाई बढ्दै गयो । एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे तहसम्म जान रोक लगाइएपछि अधिकांश मजदूर तथा दैनिक ज्याला मजदूरीमा गरी खाने नेपालीको भान्सा बल्न छोड्यो ।

कतिपय सडकमा कसैले राहत दिन्छकी भनेर आउन थाले भने कतिले सरकारको उपस्थितिको प्रतिक्षा गरे । सरकारले सबै स्थानीय तहलाई परिपत्र गरी पहिलो चरणमा अति आवश्यक परेकालाई राहत वितरण त शुरु गर्यो । तर, गरिब, मजदूर तथा राजधानी काठमाडौंका कोठा भाडामा बस्ने विपन्नसम्म पुग्न सकेन ।

यसैबीचमा काठमाडौंको ठमेलमा समुदायमा आधारित सारङगी रेष्टुँरा चलाइरहेका केदार गान्धारीले त्यस्ता विपन्न तथा देशभरि रहेका गन्धर्व समुदायको चुलो बाल्न केदार फुड्स क्याम्पको सुरुवात गरे । अहिले सोही क्याम्पमार्फत् केदार गान्धारीले सारंगी सोसियल इन्टरप्राइजेज, गन्धर्व संघसंस्थाको सहकार्यमा करिब ३ सय बढी असाहाय तथा विपन्नलाई राहत वितरण गरेको बताए ।

उनी भन्छन्, ‘कहिले बिहानै ५ बजेनै फोन आउँछ । राहत पुर्याउन जान्छु, कहिले मध्यरातमा मोबाइलमा एसएमएस आउँछ । राहत वितरणमा उनी आफूमात्रै होइन आफ्ना समुदायका विभिन्न पेशा व्यवसायमा काम गर्ने साथीहरुको साथमा अघि बढेको बताउँछन् । गन्धर्व सांस्कृतिक कला संगठनका अध्यक्ष पुजन गन्धर्व, संगठनका सचिव सन्तोष गन्धर्व, गन्धर्व समाज नेपालकी उपाध्यक्ष पम्फी गान्धारी, कोषाध्यक्ष अमृत गान्धारी, सदस्य सुवास गान्धारी, सुरेश गान्धारी तथा जीवन गान्धारीले निरन्तर सहयोग गरेको बताउँछन् ।

पेशाले म्यूजिक थेरापिष्ट रहेका केदार गान्धारीले विसं २०७२ सालको भूकम्पमा पनि प्रभावित जिल्लाका गन्धर्व समुदायका लागि आर्थिक सहयोग जुटाएर प्रदान गरेका थिए । गान्धारीले भने ‘शुरुमा यो झमेला हुन्छ नगरौं जस्तो लागेको थियो तर पछि विदेशमा रहेका केही साथीहरुले निरन्तर सहयोग गर्ने बचन दिएपछि क्याम्पियन शुरु गरें । आज खुशी लाग्छ ।’

उनी थप्छन्, ‘कलंकीको स्यूजाटारमा रहेकी दुई महिनाकी सुत्केरी माइली परियारको कोठामा सामान्य सहयोग लिएर जाँदा आँशु झार्दै धन्यवाद दिँदा रातभरि निदाउन सकिनँ । मानिसलाई कयौं दुःखहरु हुन्छन् तर खान नपाउनु र बालबालिकाको भोक मेटाउन नपाउनुको महसुस त्यो घटनाले गरायो ।’

गोरखा घर भइ हाल काठमाडौंमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएकी संगीता गायक प्रसव पीडाले टिचिङ हस्पीटलमा छट्पटिँदा आफ्नो सानो सहयोग उनका लागि भगवान् सावित हुँदा खुशी लागेको गान्धारीले बताए । उनले भने हामीले समुदायका परिवारलाई मात्रै नभइ विभिन्न समुदायका विपन्नलाई सहयोग गरेको बताए ।

उनले अहिले विद्यार्थी, बृद्ध, अपाङ, अशक्त तथा मजदूरलाई खाद्यान्य दाल, चामल, तेल, नुन तथा अत्यावश्यक परेमा ग्यास पनि उपलब्ध गराइरहेका छन् । उनले केदार फुड्स क्याम्प र गन्धर्व संस्थाको सहकार्यमा काठमाडौं, भत्तपुर, ललितपुर, दाङ, बाग्लुङ, गोरखा, लम्जुङ, तनहुलगायतका विभिन्न जिल्लामा सहयोग गरेको बताए ।

थप फोटोः

प्रतिक्रिया दिनुहोस्