कोरोना मृत्युले काहालीलाग्दो बनेको विश्व, कुन देशमा कती मृत्यु (अपडेट)



१६ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ३० लाख ६२ हजार ६२ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८ सय १९ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार २ सय ८७ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४९ बढी  पुगेको छ । एकैदिन २० हजार ८ सय ३३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ८ हजार ४३ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार १ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ३७ हजार ७ सय ३९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २३ हजार ५ सय २१  पुगेको छ । २ लाख २९ हजार ४ सय २२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार ७ सय ८ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा इटालीमा  ३ सय ३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ९ सय ७७ पुगेको छ । एकैदिन १ हजार ७ सय ३९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ४ सय १४ पुगेको छ भने ६६ हजार ६ सय २४ जना निको भएका छन् । संक्रमितमध्ये १ हजार ९ सय ५६ जनाको  अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा ४ सय ३७ जनाको मृत्य भएको छ । योसँगै फ्रान्समा मृतकको संख्या २३ हजार २ सय ९३ पुगेको छ ।

बेलायतमा मृतकको संख्या २१ हजार ९२ नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । एकैदिन १ हजार ५ सय ६१ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ७ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् भने २१ हजार ३ सय ७५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्