मध्यप्रदेशमा ६ वर्षीया बालिका बलात्कार पछि आँखासमेत फुटाइदिए



१२ बैशाख २०७७, काठमाडौं

भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिकालाई बलात्कार गरेर आँखासमेत फुटाइदिएको क्रूर घटना सार्वजनिक भएको छ । यो पासविक घटना मध्यप्रदेश राज्यको दमोह जिल्लाको बंशीपुर गाउँको हो । बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको पीडित पक्षको भनाइ छ ।

पुलिसका अनुसार बालिका बुधबार बेलुका आफ्ना साथीसँग खेलिरहेका बेला गायब भएकी थिइन् । बालिकाको रातभरी खोजी गरियो तर बिहिबार बेलुका बालिकालाई एक सुनसान स्थानमा भेटिएको थियो । उनको दुबै हात बाँधिएको थियो ।

दमोह जिल्ला प्रहरी प्रमुख हेमन्त चौहानले बीबीसीलाई दिएको जानकारीअनुसार बालिकाको धेरै स्थानमा चोट छ र घटना अनुसन्धानका लागि २१ वर्षीय सचिन सेनलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले सेनसँग सोधपुछ गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार ती बालिकाको दृष्टि गुमेको वा नगुमेको भन्ने एकिन अझै भएको छैन । चौहानले भनेका छन्, ‘उनका दुवै आँखा सुन्निएका छन् । आँखामा कति क्षति पुगेको छ भन्ने एकिन हुन सकेको छैन । उनले देख्न सक्छिन् कि सक्दैनन् भन्ने पनि थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्