कोरोना जितेका बिरामीमा देखियो यस्तो असर, त्रासमा नागरिकहरु, चिन्तामा वैज्ञानिकहरु



१२ बैशाख २०७७, काठमाडौं

चीनमा कोरोना भाइरसको संक्रमणमा पछिल्लो एकहप्तामा निक्कै कमी आएको छ । तर त्यहाँ नयाँ रुपमा कोरोनाको संक्रमण देखिएकाले आम मानिस अझै त्रसित छन् । मानिसलाई मनोवैज्ञानिकरुपमा बलियो बनाउनका लागि काउन्सिलिङ दिन सुरु गरिएको छ । समस्याको रुपमा दुई महिना पहिले ठिक भएका बिरामीमा फेरि परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको छ तर उनिहरुमा लक्षण भने देखिएको छैन । चिकित्सकहरुले यस्तो अवस्था चीनका लागि ठूलो चुनौती बनेर अगाडि आएको बताएका छन् ।

बिरामी निको भएको ५०/६० मात्र होइन ७० दिनसम्म पनि कोरोना भाइरस पोजेटिभ आएको छ । चीनका स्वास्थ्य अधिकारीले यस्ता व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भने नभएको बताउँछन् । रोयटर्सका अनुसार चिनियाँ विभिन्न अस्पतालमा यस्तो समस्या भएका दर्जनौँ बिरामी आएका छन् ।

दक्षिण कोरियामा लगभग १ हजार व्यक्तिमा चार हप्तापछि सम्म पनि कोरोना टेष्ट पोजेटिभ आएको थियो । इटलीका स्वास्थ्य अधिकारीका अनुसार कतिपय बिरामीको एक महिना भन्दा धेरै समयसम्म पनि कोरोना टेष्ट पोजेटिभ आएको छ ।

अहिलेसम्म नयाँ बिरामीबाट संक्रमण फैलिने विषयमा अनुसन्धान चलिरहेको छ । वुहानको जिनइनताङ अस्पतालका अध्यक्ष झाङ डिङ युले रोग सार्न सक्ने वा नसक्ने कुराको पुष्टि नभएसम्म यस्ता बिरामीलाई अस्पतालमै राख्ने बताएका छन् । अहिले आम नागरिकको सुरक्षाका लागि यस्तो कदम उठाएको उनी बताउँछन् ।

झाङ डिङ युले पछिल्लो समय देखिएको कोरोना संक्रमणको यस्तो अवस्थाले आफूलाई समस्या परेको बताए । उनले जनतामा नकरात्मक प्रभाव पर्न थालेपछि काउन्सिलिङ दिन थालिएको जानकारी दिएका छन् ।

वुहानको झोगानन् अस्पतालका उपाध्यक्ष युयान युफेङ्गले रोयटर्ससँग भनेका छन्, ‘जसमा ७० दिन पहिला भाइरस भएको पत्ता लागेको थियो, ती व्यक्तिको टेष्टमा अहिले पनि भाइरस पोजेटिभ देखिएको छ । हामीले सार्सका बिरामीको समस्या पनि यस्तो देखेका थिएनौँ ।’ सन् २००३ को सार्स महामारीमा पनि चिनियाँ नागरिक नै धेरै संक्रमित भएका थिए ।

चीनमा कोरोना भाइरसका बिरामीलाई दुईवटा टेष्टमा नेगेटिभ नतिजा देखिएपछि घर पठाइएको थियो । तर चिकित्सकहरुले भने तीन वा चार पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि मात्र डिस्चार्ज गर्नुपर्ने तर्क राखेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी गुआवो यान होङले भनेका छन्, ‘कोरोना भाइरस एक नयाँ तरिकाको भाइरस हो । यसका बारेमा अहिले अध्ययन भइरहेको छ । चिनियाँ वैज्ञानिकहरुले यो भाइरस फरक फरक तरिकाले किन देखिएको छ भन्ने कुरा अध्ययन थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्